१० मिनेट ढिला हुँदासम्म पनि कार्यक्रम शुरु नभए सहभागिता नजनाउन प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयको निर्देशन
धुलिखेल/गृह मन्त्रालयले गृह सचिव स्तरीय निर्देशन दिदै प्रमुख जिल्ला अधिकारीहरुलाई कार्यक्रममा सहभागिता एवं ब्यवस्थापनका लागि १० बुँदे परिपत्र जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई कार्यक्रममा सहभागिता जनाउँदा १० मिनेट ढिला हुँदासम्म पनि शुरु नभएमा कार्यक्रममा सहभागिता नजनाउन निर्देशन दिएको छ ।
परिपत्रमा भनिएको छ –‘कानूनतः गठन भएका समिति, कार्यदल एवम् प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित र जिम्मेवारी तोकिएका कार्यक्रमबाहेक अन्य कार्यक्रममा सहभागी नहुने, आफूले सहभागिता जनाएको कार्यक्रमको अभिलेख कार्यालयमा राख्ने व्यवस्था मिलाउने र सोको प्रतिवेदन मन्त्रालय समक्ष गर्ने, धेरैजसो बैठक एवम कार्यक्रम समयमा शुरू नहुने, विषयवस्तुभन्दा बाहिर गएर छलफल हुने, औपचारिकतामा धेरै समय खर्च हुने गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयबाट आयोजना हुने बैठक एवम् कार्यक्रमहरू अनिवार्यरूपमा तोकिएको समयमा नै प्रारम्भ र समापन हुनेगरी सञ्चालन गर्ने, अन्य निकायबाट आयोजना हुने बैठक एवम् कार्यक्रममा तोकिएको समयमानै उपस्थित हुने । आफू समयमा उपस्थित हुन नसकिने भए आयोजकलाई समयमै जानकारी गराई आफ्नो कारणबाट बैठक ढिला हुने अवस्था सृजना नगर्ने र कार्यक्रम तोकिएको समय भन्दा १० मिनेट ढिला हुँदासम्म पनि शुरू नभएमा कार्यक्रममा सहभागिता नजनाउन भनिएको छ ।’
कार्यक्रममा निमन्त्रणा पठाउँदा नै बैठक शुरु हुने र सम्पन्न गर्ने समय सीमा तोकेर पत्राचार गन, निमन्त्रणासँगै कार्यक्रम तालिका वा एजेण्डा सहित पठाउने व्यवस्था मिलाउने, बैठकका निर्णयहरू वस्तुनिष्ठ र कार्यान्वयनको समयसीमा सहित गर्न, बैठकमा अघिल्लो बैठकको निर्णयहरूको अनिवार्य समीक्षा गर्न, कार्यक्रम तथा बैठकमा कार्यक्रमको अध्यक्ष र प्रमुख अतिथिलाई मात्र आसन ग्रहण गराउने र अन्यलाई एकमुष्ट सम्बोधन गर्न, बैठकमा बोल्दा बैठकको अध्यक्षलाई मात्र सम्बोधन गर्ने र तोकिएको एजेण्डामा मात्र छलफल केन्द्रित गर्न, बैठक तथा कार्यक्रममा सहभागीहरूको स्वागतमा फुलमाला, खादा आदिको प्रयोग गरी खर्चिलो हुने गरेको सन्दर्भमा सम्भव भएसम्म प्रमुख जिल्ला अधिकारीले फुलमाला, खादा आदिको प्रयोग नगन, प्रयोग गर्नुपरेमा प्राकृतिक फुल एवम् स्वदेशी खादा प्रयोग गर्न र राष्ट्रप्रमुख, प्रधानमन्त्री र अतिविशिष्ट व्यक्ति वा विभागीय मन्त्री औपचारिक कार्यक्रममा सहभागी हुन आउँदा र प्रचलित कानूनले निर्धारण गरेको बाहेक अन्यलाई विमानस्थलमा स्वागत वा बिदाईका लागि सहभागी नहुन र अन्यलाई कार्यक्रम आयोजनास्थल वा कार्यालयमा मात्र स्वागतका लागि उपस्थित हुन निर्देशन दिईएको छ ।





