बागमती प्रदेश सभाको बैठक कात्तिक तेस्रो साता बस्ने
काठमाडौँ/ लामो समयदेखि बस्न नसकेको बागमती प्रदेश सभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ ।
प्रदेशका उपसभामुख अप्सरा चापागाईँ अनुसार छठ पर्वलगत्तै प्रदेश सभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग प्रदेश सभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।
राजनीतिक दलका नेताहरूसँग परामर्श भइरहेको र उहाँसँगको परामर्श पश्चात् प्रदेश सभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईँको भनाइ छ ।
सम्भवतः कात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताइन् । प्रदेश सभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभा हलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको छ ।
तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभा हलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
“अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ”, सचिव पौडेलले भन्नुभयो, “सो सभा हलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम पनि तीव्र रूपमा भइरहेको छ ।” सम्भवतः छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उनको भनाइ छ । हाल सो सभा हलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङगरोगनको काम अघि बढाएको छ ।
बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए । आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्यूटरबाट काम सुरु गरिएको उनले बताए।






