ट्राफिक सचेतना कक्षा पर्सिदेखि पुनः सञ्चालन हुँने
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पर्सि मङ्गलवारदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडका कारण क्षति पुगेका भौतिक संरचना मर्मत गरी पर्सिदेखि कक्षा सञ्चालनमा ल्याउन लागेको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उहाँका अनुसार मङ्गलवारदेखि भौतिक कक्षा सञ्चालन भए पनि अनलाइन कक्षा भने तत्काल शुरू हुने छैन । नागरिक एपमै क्षति पुगेकाले यो सेवा अहिलेका लागि बन्द रहने सुवेदीले बताए।
यसअघि कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेपछि लिनुपर्ने सचेतना कक्षा गएको असार २९ गतेदेखि अनलाइनबाट पनि सञ्चालन गर्न थालेको थियो । सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रवार दिउँसो साढे २ बजेसम्म कक्षा सञ्चालन हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शनिवार भने १० बजेदेखि १२ बजेसम्म २ वटा कक्षा सञ्चालन हुनेछन् ।
जाँड–रक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, बत्ती तथा लेन अनुशासन पालना नगर्ने चालकले सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।





