लुटिएका ५ सय ५६ थान हतियार फिर्ता आउन बाँकी

२४ भदौको हिंसात्मक प्रदर्शनका क्रममा लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेका छैनन् ।

नेपाल प्रहरीका विभिन्न ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनीपछि १२ सय ७६ थान घातक हतियार लुटिएका थिए । त्यसमध्ये ७ सय २० थान मात्रै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ । अझै ५ सय ५६ थान हतियार फिर्ता आउन बाँकी रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

प्रहरीका अनुसार इन्सास र एसएलआरसहित २ सय ८५ नाल ठूला पेस्तोललगायत २ सय ७१ नाल साना हतियार अझै नियन्त्रणमा आएका छैनन् । यसले शान्ति सुरक्षामा समेत चुनौती थपिएको प्रहरी अधिकारीहरुले बताउँदै आएका छन् ।

२४ भदौमा २८ कारागार र बालसुधार गृह तथा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका सहित कुल १४ हजार ४३ जना कैदीबन्दी र थुनुवा भागेका थिए । तीमध्ये अझै करिब ५ हजार कैदीबन्दी र थुनुवा पक्राउ परेका छैनन् ।

२३ गते सुरु भएको जेनजी आन्दोलन र २४ गतेको प्रदर्शनपछि पनि आ–आफ्ना माग राखेर विभिन्न समूह आन्दोलन र प्रदर्शनमा उत्रिएका छन् । यस्ता समूहका आन्दोलनमा समेत भागेका कैदीबन्दी र थुनुवा तथा लुटिएका हतियार प्रमुख चुनौतीका रुपमा रहने ब्रिफिङ सुरक्षा निकायहरुले सरकारलाई गराइसकेका छन् ।

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच २४ भदौमा ‘आपराधिक गतिविधि’ मा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट २ सय ३७ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, कोशीबाहेक सबै प्रदेशबाट प्रहरीको हातहतियार, व्यक्तिगत सम्पत्ति लुटपाट, आपराधिक उपद्रव र अभद्र व्यवहारको कसुरमा उनीहरू पक्राउ परेका हुन् । ‘जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आपराधिक गतिविधिमा संलग्न आरोपितहरू प्रहरी हिरासतमा छन्, कतिपय हाजिर जमानतमा छुटेको अवस्था पनि छ,’ उनले भने, ‘कसुरअनुसार मुद्दा दर्ता पनि भइरहेका छन् ।’