नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाले काठमाडौंमा प्रदर्शन र सभा आयोजना गर्दै
काठमाडौं / नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने योजना बनाएको छ। पार्टीका महासचिव विप्लव सभालाई सम्बोधन गर्नेछन्। नेकपाका नेता सन्तोष बुढामगरका अनुसार सभामा काठमाडौं उपत्यका र वरपरका जिल्लाबाट कार्यकर्ताहरू सहभागी हुनेछन्, र कम्तिमा १०–१५ हजारको उपस्थिति रहने अपेक्षा छ।
सभा अघि र्याली निकाल्ने तयारी छ भने प्रदर्शन र सभास्थल जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भएपछि निश्चित गरिनेछ। बुढामगरले खुलामञ्च प्राथमिकता भए पनि अनुमति नपाए भृकुटीमण्डप, बसन्तपुर, रत्नपार्क वा टुँडिखेलमा सभा गर्न सकिने बताए।
यसअघि दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शनको प्रयास गर्दा गृह मन्त्रालयले अनुमति दिएको थिएन। विप्लव नेतृत्वको नेकपाको सभाबारे मन्त्रालयले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।






