जेनजी आन्दोलनमा भएको विध्वंसका प्रमाण सुरक्षित गर्न एमालेले खोल्यो सूचना बैंक

by | कार्तिक ११, २०८२

जेनजी आन्दोलनमा भएको विध्वंसका प्रमाण सुरक्षित गर्न एमालेले खोल्यो सूचना बैंक

नेकपा एमालेले भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नहरूको प्रमाण संकलन गरेर कारबाहीका लागि सबुत जुटाउन सूचना बैंक स्थापना गरेको छ । पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाण केन्द्रीय कार्यालयमा रहनेछन् ।

विभिन्न व्यक्तिले तत्कालीन समयमा आफैँले राखेका भिडिओहरू टिकटक र रिलबाट डाउनलोड गरेर सोहीबेला राखिएका र नयाँ प्रमाणहरू समेत भेटिँदै जाँदा सबैलाई सबुतका रूपमा सुरक्षित गर्न सूचना बैंक खोलिएको पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए ।

पार्टीले देशभरका सरकारी कार्यालय, प्रहरी व्यापार प्रतिष्ठान, निजी सम्पत्ति आगजनी तथा तोडफोड र लुटपाटका घटनाको भिडिओ, फोटो तथा अन्य प्रमाणहरू संकलन गर्न केन्द्रीय कार्यालयबाटै डेस्क तयार पारेको छ ।

विध्वंसका घटनामा संलग्नहरूको पहिचान हुने सबै प्रमाण संकलन गरेर सूचना बैंकमा राख्ने र प्रहरीलाई उपलब्ध गराउने प्रक्रिया चलिरहेको संगठन विभागका सचिव माधव ढुंगेलले बताए । अहिलेको सरकारले दोषीलाई उन्मुक्ति दिए पनि भोलि राजनीतिक दलको सरकार आएपछि कानूनी दायरामा ल्याउनका लागि प्रमाणहरू संकलन गरेर एकै ठाउँमा राखिएको उनको भनाइ छ ।
काभ्रेमा पनि एमाले नेताको घरमा आगजनी तथा तोडफोड भएको छ । नेकपा एमालेका वागमती प्रदेश कमिटी सदस्य एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, पनौती नगरपालिकाका पुर्व नगर प्रमुख भीम न्यौपाने, उप–प्रमुख गिता बञ्जाराको घरमा आगजनी भएको थियो । यस्तै पनौती नगरपालिका–२ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारकिो घरमा तोडफोड भएकोृ थियो । बनेपमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । विध्वंशको सुरुवात नै एमाले पार्टी कार्यालयबाट भएको थियो ।