प्रभावकारी ‘सेक्युरिटी अप्रेसन’ संचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
धुलिखेल/जेलबाट भागेका कैदीबन्दी बाहिर । प्रहरीका लुटिएका हतियार, गोलिगठ्ठा र पोशाक बाहिर । प्रहरी चौकी, सार्वजनिक सम्पत्ति र ब्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरु खुलमखुल्ला । अनि सरकार भन्छ नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन तयार छौं । नागरिकहरु त्रासमा छन् । अपराध कार्यमा संलग्नहरु खुलमखुला भईरहँदा नागरिक कसरी सुरक्षित महसुस गर्न सक्छ ?
जेनजी (न्भल–श्) पुस्ताको प्रदर्शनपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभित्र शान्ति सुरक्षामा तत्काल र दीर्घकालमा असर पार्ने सुरक्षा चुनौतीहरू सतहमा आउनु पूर्व नै पहिचान एवम् विश्लेषण गर्ने, त्यसका लागि सूचना संकलन, विश्लेषण र उपयोगलाई समन्वयात्मकरूपमा प्रभावकारी बनाउन गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
पछिल्लो परिवर्तन पश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य शुरू भैसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रमहरू संचालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई उत्तेजित नपार्ने एवम उक्साहट नहुने गरी पूर्वस्वीकृति लिएर मात्र सभा सम्मेलन गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरूले कार्ययोजना बनाई संयुक्तरूपमा प्रभावकारी सेक्युरिटी अप्रेसन संचालन गर्ने र अवैध हातहतियारको नियन्त्रण गर्न आवश्यक कार्य गर्न निर्देशन दिएको छ ।
जिल्लास्थित सबै सुरक्षाकर्मी तथा निजामती कर्मचारीको मनोबल बढाउने गरी छलफल, अनुगमन एवम् उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्न, कानून कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्दै दण्डहीनताको अन्त्य गरी नागरिकमा स्थानीय प्रशासन एवम् सुरक्षा निकायप्रतिको विश्वास जागृत र अभिबृद्धि गराई सुरक्षा प्रत्याभूति गर्ने तथा कानून विपरितका कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम कारवाही गर्न निर्देशन दिएको छ ।
जिल्लाबाट शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत तत्काल जाहेरीसमेतका विषयमा गर्नुपर्ने दैनिक प्रतिवेदन मन्त्रालयको दैनिक प्रतिवेदन प्रणालीबाट गर्ने, प्रतिवेदन गर्नुपर्ने उल्लेखनीय विषय नभए पनि दैनिक जानकारी गराउने, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्ति सुरक्षामा गम्भिर असर पुरÞ्याउने लगायत महत्वपूर्ण घटनाको सूचना तत्कालै मन्त्रालय समक्ष प्रमुख जिल्ला अधिकारीले जाहेरी गर्न, जिल्ला भित्रका गतिविधिहरूको बारेमा नियमित प्रतिवेदन र जाहेरी गर्नुपर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको रहने भएकोले घटनाको प्रकृति र संवेदनशीलता विश्लेषण गरी यथाशीघ्र जानकारी गराउने र मन्त्रालयबाट आवश्यक छानविन र कारवाहीका लागि लेखी पठाइएका विषयहरू प्राथमिकतासाथ फछ्यौट गर्न निर्देशन दिईएको छ ।






