एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण भयाे: माधव नेपाल
काठमाडौँ/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको जिकिर गरेका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रतिवेदनमा पार्टीका नेताहरूले केही प्रश्न उठाइरहेको भन्दै औचित्य पुष्टि भइसकेको बताएका हुन्।
प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको दसौँ महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा समेत यस विषयमा स्पष्ट पारिएको छ। तथापि कुरा उठ्न नछाडेको हुनाले फेरि पनि स्पष्ट गरौँ। कुनै पनि कार्यको औचित्य भनेको उक्त कार्य गर्नु उचित थियो कि थिएन भन्ने हो, उक्त कार्यका उचित कारण थिए कि थिएनन् भन्ने हो। हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो। विद्रोह गर्नुका कारणहरू उचित थिए र विद्रोह गर्नु अत्यावश्यक थियो।’
एमालेबाट विद्रोह पार्टीभित्रको आन्तरिक अन्तर्विरोध र वैचारिक संघर्षका कारणले मात्र गरेका नगरेको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित केपी ओलीले पार्टी महाधिवेशनबाट पारित गरिएको क्रान्तिकारी कार्यदिशा कार्यान्वयन नगर्नुका साथै पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलतर्फ धकेल्दै लगेपछि पार्टीभित्र गम्भीर मतभेद उत्पन्न भएका थिए र हामीले बारम्बार फरक मत राख्दै वैचारिक संघर्ष चलाएका थियौँ। फरक मत राख्नेहरूप्रति प्रतिशोधपूर्ण व्यवहार गरिएको थियो र हामीले प्रतिवाद गर्नु परेको थियो, जुन काम केपी ओलीले अहिले पनि गरिरहेकै छन् ।’






