नेतृत्वमा पुग्छु भन्नेहरूले पार्टीलाई संकटको घडीमा एकताबद्ध गर्न जरुरी छः प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई लक्षित गर्दै मंसिरमा विशेष महाधिवेशन भन्ने रटान छाड्न भनेका छन् ।

बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै विशेष महाधिवेशनलाई कुनै अचुक औषधिजस्तो नगर्न आग्रह गरे । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् ।

त्यसबारे उनले भने, ‘अहिले पार्टीमा विशेष महाधिवेशन मंसिरमा भन्ने बहस चलिरहेको छ । त्यो नै अचुक औषधि जस्तो छ । यत्रो राष्ट्रिय सङ्कट छ, हामीमाथि उत्रो प्रहार भएको छ । राष्ट्रलाई नै कमजोर गर्ने प्रयास भइरहेको छ । म नेतृत्वमा पुग्छु भन्नेहरूले पार्टीलाई संकटको घडीमा एकताबद्ध गर्न जरुरी छ। हामीबाट कमीकमजोरी भएका छन्, त्यसको गम्भीर छलफल र समीक्षा गरौँला ।’

मंसिरमा विशेष कि नियमित भन्ने बहस छाडेर विधि र प्रक्रिया अनुसार नै क्रियाशील सदस्यताको विषय टुङ्ग्याउनुपर्ने बताए ।

उनले भने, ‘विधानले सुविधा दिएको छ भनेर तन्काउने कुरा छैन । भोलिदेखि नै केन्द्रीय समिति बैठक बस्दै छ । विधि, प्रक्रिया, निष्पक्षता, पारदर्शिता र सुनिश्चित हुने गरी मिति तोकौँ न । यथार्थ समय कति लाग्छ । मेरो विचारमा वैशाख, जेठसम्म गर्न सकिन्छ ।’

राजनीतिमा सबै खत्तम र बदमास हुन भन्ने नकारात्मक भाष्य जबरजस्त ढङ्गबाट सामाजिक सञ्जालबाट सम्प्रेषित भइरहेको बताए । अहिले देश संकटमा रहेको बेलामा पार्टीभित्र एकताबद्ध हुन आवश्यक रहेको बताए ।