सरकार, दल र जेनजी प्रतिनिधिबीच पहिलोपटक एकैठाउँमा छलफल, कसले के भने ?
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, दल र जनेजी प्रतिनिधिबीच संवाद सुरु भएको भन्दै यसलाई जारी राख्नुपर्ने बताएकी छिन्।
बुधबार बालुवाटारमा सुरु भएको सरकार, दल र जनेजी प्रतिनिधिबीचको त्रिपक्षीय बैठकको सुरुमै धारणा राख्दै उनले सबै मिलेर देश बनाउनुपर्ने बताइन्।
‘सबै विचारको आदानप्रदान गरौँ,’ कार्कीको भनाइ छ, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन्।’
‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ,’ उनले थपिन्।
बैठकमा जनेजीबाट १५ र दलका तर्फबाट १६ जना प्रतिनिधि सहभागी भएका छन्।
यस्तै सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागीहरूले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनावमात्रै भएर पनि नहुने जेनजी प्रतिनिधिहरूले बताएका छन् ।
साथै उनीहरूले आन्दोलनको मुख्य माग भनेको सुशासन रहेको र त्यसका लागि सरकारसँग सँगसँगै अघि बढ्ने बताएका छन् ।






