अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ जनाको उद्धार

काठमाडौँ / सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेसक्याम्पबाट १६२ जना पर्यटकको उद्धार गरेको छ । सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित एक सय ६२ जनाको बिहीबार बिहान उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो ।

सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ । तीन दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो ।

मंगलबारबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरूलाई गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनीहरू सबै हिमपात नभएको सुरक्षित स्थानमा छन् ।