मन्त्री बन्न रोकिएका खगेन्द्र सुनार साइबर क्राइम मुद्दामा ५० हजार धरौटी तिरेर रिहा
विभिन्न मुद्दा बाहिरिएपछि मन्त्री बन्न रोकिएका खगेन्द्र सुनारसँग काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार धरौटी माग गरेको छ ।
विद्युतीय कारोवार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका सुनार आज अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् । सुनार ५० हजार रुपैयाँ धरौटी वुझाएर रिहा भएका छन् ।
रिहा भएपछि सुनारले अदालतप्रतिको विश्वास रहेको भन्दै अदालतप्रति सम्मान रहेको बताएका छन् । मुद्दामा उल्लेख भएको नामको मान्छे संसारमै नरहेको भन्दै आफु कहाँबाट परेँ थाहा नभएको प्रतिक्रिया दिए ।
फरक प्रसंगमा उनले मन्त्री बन्ने नबन्ने विषय ठुलो नरहेको भन्दै आफु अहिले पनि सरकारको प्रवक्ता भएको बताएका छन् । उनले निर्धारित मितिमै चुनाव हुने भन्दै सबै राजनीतिक दलहरुलाई चुनावमा सहभागी हुन अपिल गरेका छन् ।
उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् । अदालत, कानून केहि नमान्ने र न्याय पनि आफुले भने जस्तै हुनु पर्ने भन्दै चर्को गाली गलौजमा उत्रिएका सामाजिक अभियान्ता बताउने खगेन्द्र सुनार विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ वमोजिम काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर निवासी अधिवक्ता मनिषा गौतमले दिएको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।






