कांग्रेसमा बहुसंख्यक सदस्य नियमित महाधिवेशनको पक्षमा, बैठकमै गएनन् गगन
नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताए।
यसैबिच नेपाली कांग्रेसका महामन्त्री गगन थापा आजको केन्द्रीय समिति बैठकमा अनुपस्थित भएका छन्।
बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको भेटमा महाधिवेशनको कार्यतालिकाबारे कुरा नमिलेपछि महामन्त्री थापा बैठकमा नगएका हुन्।
बैठकअघि थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले कावा सभापति खड्कासँग भेटेका थिए।
तर, संस्थापन पक्षको हिजो भएको भेलाले चुनावपछि वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसले कांग्रेसभित्र मतभेद चर्किएको छ।






