शनिबारसम्म भारी वर्षा र बाढी आउने चेतावनी, सतर्क बस्न सरकारको आग्रह
काठमाडौं / बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको प्रभावले शुक्रबार (आज) र शनिबार (भोलि) बागमतीसहित तीनवटा प्रदेशमा भारी वर्षा र बाढी पाहिरोको जोखिम बढेको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ ।
मोन्था चक्रवातको प्रभाव
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारबाट नेपालको मनसुनमा बदली सुरु भएको र यो क्रम शनिबार (भोलि)सम्म कायम रहनेछ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मध्यम वर्षा भए पनि शुक्रबार (आज)बाट भारी वर्षाको सम्भावना छ ।
१३ देखि १५ कात्तिकसम्म कोशी, मधेश र बागमती प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने विभागको भनाइ छ । लुम्बिनी प्रदेशका नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भएर बग्ने ससाना नदीमा बाढी आउने चेतावनी विभागले दिएको छ ।
शुक्रबार (आज) र शनिबार (भोलि) कोशी मधेश र बागमती प्रदेश भएर बग्ने नदीमा बाढीले सतर्कताको तह पार गर्ने चेतावनी विभागको छ ।






