काभ्रेपलाञ्चोकमा ३ लाखभन्दा बढी मतदाता, निर्वाचन तयारी अघि बढ्दै
धुलिखेल/प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला स्थित निर्वाचन तयारी समितिले पहिलो पटक विहिबार दिउसो जिल्ला स्थित सुरक्षा निकाय र राजनीतिक दलहरुसँग आगामी फागुन २१ गते घोषित निर्वाचनको तयारीका बारेमा छलफल गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार बैठकमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ ले तोके बमोजिम वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई वडा भित्रका मतदान स्थल तथा मतदान केन्द्रहरुको अध्ययन अवलोकन, उक्त स्थल र केन्द्रहरुमा मतदान गर्नै मतदाताको पहिचान, मतदान स्थल र केन्द्र निर्धारण सम्वन्धमा दल, स्थानीय तह र अन्य सरोकारवालाहरुसँग समन्वय गरी वडाभित्र रहेका मतदान स्थल र केन्द्रको नाम र विवरणमा रहेको त्रुटि सच्याउनु पर्ने भएमा वा वडा भित्र नयाँ स्थल थप्नु पर्ने वा साविकका स्थल हटाउनु पर्ने वा गाभ्नु पर्ने भएमा कारण खुलाई प्रमाण संकलन गरी जिल्ला मतलान स्थल तथा मतदान केन्द्र सिफारिस समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको थियो । बैठकमा जिल्ला स्थित सुरक्षा निकाय र दलका प्रतिनिधिहरु तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु सहभागि थिए ।
त्यस्तै कार्तिक २१ गते भित्र जिल्ला स्तरीय समितिमा सफिारिसका लागि पठाउन र वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सिफारिस सम्वन्धमा छलफलका लागि अर्काे बैठक २०८२ कार्तिक २६ गते दिउसो २ बजे बस्ने निर्णय गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १३ हजार ३ सय ५० मतदाता कार्तिक १७ गतेसम्म कायम भएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा अघिल्लो निर्वाचनका समयमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र, नगरपालिका ६, गाउँपालिका ७, वडा संख्या १ सय ३५ मा १ सय ९० वटा मतदान स्थल र ३ सय ८९ वटा मतदान केन्द्र रहेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको छ ।





