पनौतीको नेपाने र डाँडागाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

by | कार्तिक १४, २०८२

पनौतीको नेपाने र डाँडागाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित नेपाने र डाँडागाउँ पनौती नगरपालिकाको पहिलो र काभ्रे जिल्लाको चौथो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएको छ । दुईवटा समुदायका १ सय ९५ घरधुरीमा गुणस्तरीय खानेपानी उपलब्ध भएसँगै आज एक कार्यक्रमकाबीच सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराले देविखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गत डाँडागाउँ र नेपाने फ्याङखोला खानेपानी उपभोक्ता समितिलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेकी छन् ।
पनौती नगरपालिकाको समन्वयमा, युनिसेफ नेपालको सहयोग, कार्यान्वयन साझेदार सिविक फोरमको सहजीकरणमा उक्त दुई वटा समुदायको १ सय ९५ घरधुरीमै सफा र गुणस्तरीय पिउने पानी पुगेसँगै नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा २०८२ श्रावण १५ गते, जारी “सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२” को अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचकहरु पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको सिविक फोरम काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले जानकारी दिए ।
कार्यक्रममामा उप–प्रमुख गिता बञ्जाराले गत वर्षको असोजमा आएको बाढीपहिरोले खानेपानी आयोजना क्षतविक्षत बनाएको अवस्थामा त्यस्लाई पुर्ननिर्माण, मर्मतसुधार गर्नका लागि सिविक फोरमले ठुलो सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । स्वच्छ खानेपानीको उपलब्धतासँगै फोहोर पानीका कारण लाग्ने रोगबाट छुटकारा मिल्ने उनको विश्वास छ । केहि समय अघिसम्म खानेपानीको चरम अभाव रहेका यी क्षेत्रमा निरन्तरको प्रयासबाट घर घरमा खानेपानी पुगेको उनले बताइन् । उनले खेर गएको करेसाबारीलाई सदुपयोग गर्न र क्रमशः आर्थिक उपार्जनका जोडिन पनी आग्रह गरेकी छन् ।
पनौती नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विपेन्द्र लामा तामाङले निर्माण सम्पन्न आयोजनाको संरक्षणमा जोड दिएका छन् । मर्मतसम्भार कोषलाई बलियो बनाउन उनको अनुरोध छ । वडा कार्यालयले गर्नुपर्ने सहयोगका लागि आफु प्रतिवद्ध रहेको उनले बताए । निरन्तरको कार्यपछि आज सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न सफल भएको भन्दै वडा अध्यक्ष लामाले खुसी व्यक्त गरे । यसबाट आफुहरुले पिइरहेको पानी शुद्ध रहेको प्रमाणित भएको उनले बताए ।
पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जनक केसीले पानी मानव जीवनसँग प्रत्यक्ष जोडिएकोले यसको गुणस्तरीयता जरुरी रहेको बताए । फोहोर पानीकै कारण धेरै रोगहरु लाग्ने भन्दै उपभोक्तालाई सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् । यो चरणसम्म आइपुग्न धेरै मेहनत रहेको भन्दै उनले दिगोपनाका लागि स्थानीयलाई आग्रह गरेका छन् । खानेपानी सरसफाई डिभिजन नं.३ कार्यालयका सव इन्जिनियर अर्जुन ढकालले स्वच्छ खानेपानीको उपलब्धतासँगै पानीजन्य रोगबाट बच्न सहयोग पुग्ने बताए । गत असोजको बाढीपहिरोको कारण काभ्रेमा ३ सय भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको उनले बताए । सबैको सहयोगमा क्रमशः काम गर्दै जाने उनले बताए ।
नेपाने फ्याङखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गत १ सय २३ घरधुरीमा धारा निर्माण गरिएको छ । २ वटा केवल क्रसिङ, १ वटा काँडेतारबार, इन्टेक मर्मत, पाइप विस्तार लगायतका कार्य भएको छ । पूर्णरुपमा क्षतिग्रस्त ३४ घरधुरीको शौचालय पुनर्निर्माण, ११ घरधुरीको शौचालय मर्मत सुधार समेत गरिएको छ ।

देविखोला खानेपानी उपभोक्ता समिति अन्तर्गत डाँडागाउँका ७२ घरधुरीमा एक घर, एक धारा जडान गरिएको छ । आयोजनाबाट ३ सय ९७ जना लाभान्वित भएका छन् । १२ लाख ३७ हजार ७ सय ८९ रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको छ । यस्तै परियोजना अन्तर्गत ८ घरधुरीको पूर्णरुपमा क्षतिग्रस्त ८ वटा शौचालय, ९ घरधुरीको शौचालय मर्मतसुधार, २२ घरधुरीलाई कपडाको झोला सहित ११ प्रकारको हाइजिन किट, २२ घरधुरीलाई पानीको जरकिन र ८१ घरपरिवारलाई ढकनी सहितको प्लाष्टिक समेत दिइएको छ ।

प्रत्येक घरधुरीलाई सरसफाई प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण, महिला र किशोरीहरुको लागि महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम, सामाजिक व्यवहार परिवर्तन सम्बन्धी क्रियाकलाप समेत सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत कुँवरले बताए । यी खानेपानी योजनामा पानी शुद्धिकरणको लागि स्वचालित क्लोरिनेशन प्रणाली जडान गरिएको छ ।
कार्यक्रममा देविखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर तामाङ, नेपाने फ्याङखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष कृष्ण कुमार तामाङ लगायत स्थानीयको उपस्थिती रहेको थियो । खानेपानी आयोजना सम्पन्न भएसँगै वर्षौदेखि खानेपानी समस्या झेलिरहेका स्थानीय खुसी भएका छन् ।