काभ्रेमा जेनजी आन्दोलनः पक्राउ परेका ७ जनाले के– के गरेका थिए ?
जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न ७ जना पक्राउ परेका छन् । भाद्र २४ गते काभ्रेपलान्चोकको विभिन्न सरकारी तथा नीजि संरचना भवन र सम्पति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा पनौती नगरपालिका ३ का अनिष सापकोटा, वडा नम्बर ८ का सुमन केसी, वडा नम्बर १० का साकार केसी, वडा नम्बर २ का स्यान्जि भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समिर तामाङ, वडा नम्बर ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान रहेका छन् ।

पनौती–३ का अनिष सापकोटा विरुद्ध यसअघि समेत मुद्दा दर्ता भएको थियो । २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि पनि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएका थिए । बेथानचोकका होमप्रसाद तिमल्सिनाविरुद्ध पनि २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको छ । पनौती–२ का सुवास तामाङ विरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जेनजी आन्दोलनमा कसको भूमिका कस्तोः
अनिश सापकोटाः भिडलाई उत्तेजित बनाएको, प्रहरीको समान बोकी भीडमा संलग्न भएर हिडेको
साकार खत्रीः प्रहरीको पोषाक लगाई हिडेको, आन्दोलनको क्रममा भीडमा संलग्न भएको
होम प्रसाद तिमिल्सिनाः प्रहरी बिट तोडफोड, आन्दोलनको क्रममा भीडमा संलग्न भएको
समिर तामाङः चारदोबाटो प्रहरी बिट तोडफोड, आन्दोलनको क्रममा भीडमा संलग्न भएको
सुमन के.सीः भिडलाई उत्तेजित बनाएको, आन्दोलनको क्रममा भीडमा संलग्न भएको
सुवाष तामाङः प्रहरीको समान बोकी हिडेको, आन्दोलनको क्रममा भीडमा संलग्न भएको
ङेमासाङ मोक्तानः चारदोबाटो प्रहरी बिट तोडफोड, आन्दोलनको क्रममा भीडमा संलग्न भएको
उनीहरुमाथी काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





