एकता बहसबीच ओलीको आह्वान: ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्’

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्माणमा लागेका नेता कार्यकर्ताहरुलाई आफ्नै पुरानो घरमा फर्किन आह्वान गरेका छन् ।शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै ओलीले सो आह्वान गरेका हुन् ।एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुलाई लक्षित गर्र्दै ओलीले सो अपिल गरेका हुन् । एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने तयारी गरिरहेका बेला केही नेताहरुले त्यसमा आपत्ति जनाइरहेका छन्, ओलीको आह्वान त्यसैतिर लक्षित भएको बुझ्न सकिन्छ ।
‘विगतमा नेकपा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु, जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्,’ ओलीले भनेका छन्, ‘यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ । देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ । हामी एउटै परिवार हौँ । हाम्रो लक्ष्य स्पष्ट छ —
समृद्ध नेपाल, सुखी नेपाली । म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा, हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ,’ ओलीले भनेका छन् ।ओलीले आफ्नो दल एमाले राजनीतिक संगठन मात्र नभएर जनताको रगत, पसिना, आँशु र आशाबाट बनेको विशाल परिवार रहेको बताएका छन् । पार्टी निर्माणका लागि तीन पुस्ताले बलिदानी गरेको समेत स्मरण गराएका छन् ।

‘एमाले केवल एउटा राजनीतिक संगठन होइन । यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए,’ ओलीले भनेका छन् ।

त्यसो त एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने तयारी गरेसँगै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरु आफूहरु एकतामा जान नसकिने अडान कायम गरिरहेका छन् ।