‘गाउँ बिरानो भयो’

by | कार्तिक १५, २०८२

‘गाउँ बिरानो भयो’

– देशको यस्तो दुर्गतिकै कारण युवा शक्ति विदेसिएर गाउँ बन्जर र विरानो भएको कुरालाई आत्मसात गर्दै राज्य यो शक्तिलाई देशमै खपत गराउने योजना ल्याई देश बनाउने दिशातर्फ उन्मुख होओस, अन्यथा समस्या झन् विकराल बन्दै जाने कुरामा दुई मत छैन । 
मुरहरि रायमाझी ‘हरि’
म घरमा भएका भानुभक्तीय रामायण र देवीभागवतका सिलोक दाजुहरूसँग भाका हालेर गाउन सक्ने भएदेखि नै मलाई मैले पनि कविता लेख्नसके कस्तो हुन्थ्यो जस्तो लागेर आउँथ्यो । दुम्जा स्कुलमा पढ्दा पनि लेखेर कबिता प्रतियोगिताहरूमा विजेता हुन्थे, कलम–मसी र कापीहरूसहित स्यावासी पाउँथे । तर स्कुले जीवनपश्चात् अनेक व्यावहारिक उल्झनसँगै सृजना लेखन निदायो भन्दा पनि फरक नपर्ला । पढ्ने–पढाउने दिनचर्याचाहिँ यथावत थियो । नि.मा.वि./मा.वि.मा कविता हौसिएर पढाउने र हल्का लेख्न पनि सिकाउने गर्थे । त्यस बेला लेखेका कविता सङ्कलन गरिएन, सम्झँदा अहिले पछुतो लाग्छ । २०७० सालको सुरुवात देखि चाहिँ लेखेर पुस्तक छाप्न पाए हुन्थ्यो भनेर भोक जागेको म पात्र ।
बिक्रम सम्वत् २०७१ साल चैत्रमा ‘झण्डा झुक्नु हुँदैन’ (गजल सङ्ग्रह ) प्रथमपटक प्रकाशन गरेर साहित्यिक फाँटमा पदार्पण गरेपछि २०७२ सालमा पुनःगजलसङ्ग्रह अनि २०७९ सालमा कवितासङ्ग्रह प्रकाशन गरेको यो पङ्क्तिकार २०८२ सालमा चौथो सन्तानका रूपमा ‘गाउँ बिरानो भयो’ पुस्तक लिएर तपाईं साहित्यानुरागीमाझ झुल्केको छ । यस क्षणमा आफू निकै आह्लादित भएको कुरा साझा गर्न लालायित पनि छ । समय निकाली अध्ययन पश्चात् गाली वा ताली दिने जिम्मा यहाँहरूमा सुरक्षित छ । मेरा सृजना कसैलाई कोमल गुलाब अनि कसैलाई घँगारु काँडा हुन सक्छन् । मेरो आशय यो होइन कि म काँडा नै बनूँ, हो त केवल रत्नाकर वाल्मीकि बनोस् ।
मेरो अनुभव, औकात, दुई आँखा र अन्तश्चक्षुले भ्याएसम्म सद्भाव, सहिष्णुता, मायाप्रेम, मानवता, कर्तव्यपरायणता, करुणा र राष्ट्रप्रेमसहितले परिपूर्ण असल मानव बन्ने दिशातर्फ हरेक मानिस केन्द्रित होस् भनेर मसी खर्चिएको छु । बेथिति, विसङ्गति र अराजकताको जरो काट्ने जिम्मा सचेत नेपाली र नेपाललाई माया गर्ने प्रवासी नेपाली सबैको हो । नेपालीहरूमा कायम रहँदै आएको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई अक्षुण्ण राख्दै विद्वेषको दुर्गन्धबाट टाढा रहनु तमाम देशवासीको परम दायित्व हो भन्ने कुरालाई हामीले कदापि विर्सन मिल्दैन, बिर्सियो भने पछुताउनुको विकल्प रहँदैन र फेरि पछुताउनुको पनि कुनै औचित्य रहने छैन । अमृत÷जहर के रोज्ने, दुवै हाम्रै हातमा छन् ।
ममा साहित्यसम्बन्धी सैद्धान्तिक ज्ञान कमै छ । तसर्थ व्यावहारिक ज्ञानकै सहाराले सतही रूपमै भए पनि लेख्ने जमर्काे गरेको स्वीकारोक्ति यहाँहरूसमक्ष निवेदन गर्दछु । छिटफुट रूपमा व्याकरणागत त्रुटि र कथ्य शब्द प्रयोग भएकोमा साहित्यका अध्येता÷ज्ञाताले तिललाई पहाड बनाइदिनुहुन्न भन्नेमा म आशावादी छु । यसो भनेर कृतिसमीक्षा गर्नमा बार लगाएको चाहिँ होइन । हरेक सुझावलाई आगामी दिनमा शिरोधार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछु । राजनीतिक अकर्मण्यताका कारणले जनता र देशलाई पिरोलेको कथाव्यथा दिनको घामझै छर्लङ्ग छ, तापनि औँल्याउने धृष्टता गरेको छु ।
हजारौंको बलिदानबाट आएको लोकतन्त्र लुटतन्त्रमा परिणत हुँदै जानु विषादको कुरा हो । देशको यस्तो दुर्गतिकै कारण युवा शक्ति विदेसिएर गाउँ बन्जर र विरानो भएको कुरालाई आत्मसात गर्दै राज्य यो शक्तिलाई देशमै खपत गराउने योजना ल्याई देश बनाउने दिशातर्फ उन्मुख होओस, अन्यथा समस्या झन् विकराल बन्दै जाने कुरामा दुई मत छैन । देश सबैको साझा हो, कसैको बपौती होइन । पुर्खाले जीवन दाउमा राखेर आर्जेको यो देश अक्षुण्ण राख्नका लागि लेण्डुप दोर्जेहरूदेखि सचेत नागरिकले सतर्क हुनैपर्छ । नेपाल र नेपालीको स्वाभिमान चन्द्रसूर्य उदाउन्जेल जीवित रहनुपर्छ । सदाचारको अनिकाल परेको समाजमा सहकाल ल्याउने जिम्मा पनि हाम्रै हो ।
अहो ! मैले त अन्जानमै नेपाली नेताले जस्तै एकोहोरो भाषण गरेकै पो गरेछु त ! अब बिट मार्नतिर लाग्ने अनुमति चाहन्छु । छोटो भूमिका सहित शुभकामना लेखिदिनुहुने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष एवं मूर्धन्य साहित्यिक व्यक्तित्व हरि मञ्जुश्रीप्रति आभारसहित धन्यवाद प्रकट गर्दछु ।
अक्षराङ्कन गरिदिने सङ्गीता केसी, पाण्डुलिपि तयार गर्न र मुहारपुस्तिकाका अनेक प्रविधिमा सहयोग पु¥याउने नातिनी गरिमा अधिकारी, मलाई यस क्षेत्रमा लाग्दा खुसी मान्ने मेरा परिवारजन, पुस्तक निकाल्न घच्घच्याउने शुभचिन्तकहरू, शुभकामना लेखी गुरुभक्ति देखाउने सहयोगी प्रिय चेला श्यामबहादुर लामा, शुभकामनाका शब्दगुच्छा अर्पण गर्ने भतिज डा.विनोद रायमाझी र बुहारी अलका, शुभकामना लेख्दा खुसी मान्ने नवसर्जक नातिनी गरिमा अधिकारी, पुस्तकको आवरण बनाइदिने जयराम तिमल्सिना, साजसज्जा मिलाइदिने गीता अधिकारी एवं मुद्रण गरिदिने सर्वश्री क्वालिटी प्रिन्टर्स र यसका व्यवस्थापक अमृत अधिकारीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । त्यसै गरी उन्नयनको कामना गर्ने म आबद्ध साहित्यिक संस्था प्रलेस नेपाल र प्रलेस काभ्रे यसै पनि धन्यवादका पात्र छंदैछन् । अनि प्रकाशनको जिम्मा लिने प्रकाशक प्रिय चेला समाजसेवी पासाङ लामा (पाख्रिन)/होइसाङ लामालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
जय साहित्य