केशरमहलबाट सिंहदरबार सरे शिक्षामन्त्री पुन

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् । मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आजदेखि सिंहदरबार सरेको उनको सचिवालयका सदस्य सागर ढकालले जानकारी दिए ।

“मन्त्रीज्यू आजैदेखि केशरमहलबाट सिंहदरबार सर्नुभएको छ । सिंहरदरबाटै मन्त्रालयका कामहरू हुन्छन् । केही काम केशरमहलबाट पनि हुन्छन्,” ढकालले भने ।

मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । उनी ७ असोजदेखि नै केशरमहलमा बस्दै आएका थिए । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि केशरमहलमा सारिएको थियो ।