तीन महिनामा दुई लाखभन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति

काठमाडौं/ पछिल्ला तीन महिनामा दुई लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा कुल दुई लाख ७१६ जनाले श्रम स्वीकृति प्राप्त गरेका हुन् ।

विभागका तथ्यांकअनुसार असोज महिनामा मात्रै ५६ हजार ६२५ पुरुष र आठ हजार ९ जना महिला गरी ६४ हजार ६३४ जनाले स्वीकृति लिएका थिए। त्यस्तै साउनमा ६८ हजार ११० र भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति प्राप्त गरेका थिए ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा एक लाख ७० हजार ५९१ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । त्यसको तुलनामा यस वर्षको पहिलो तीन महिनामा ३० हजार १२५ जना बढीले स्वीकृति लिएका छन् । यसरी हेर्दा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा १७.६५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।