स्थानीयको उत्साहपूर्ण सहभागितामा ख्याकू पिपलबोटमा चर्तुमाशा भागवत सम्पन्न
बनेपा/लक्ष्मी नारायण पाँचायन मन्दिर निर्माण, संरक्षण तथा सम्बर्धन समितिको आयोजनामा पनौती नगरपालिका–११, पिपलबोट ख्याकुमा जारी चर्तुमाशा भागवत कथा वाचन सम्पन्न भएको छ।
चर्तुमाशामा प्रमुख वाचक पण्डित गुरु हरिहर सुवेदी र पण्डित बद्री सुवेदीको प्रमुख वाचनसहित विशुनाथ अर्याल, राधाकृष्ण सत्याल, मकुन्द अर्याल, दिनेश पौडेल र माधव आचार्यलगायतको सक्रिय सहभागिता रहेको थियो।
चर्तुमाशा भागवत कथा वाचन समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले धार्मिक चेतनाको अभावमा भौतिक विकास अधुरो रहने बताउँदै समाजमा शान्ति र सहअस्तित्वका लागि धार्मिक शिक्षाको महत्व औंल्याए। उनले धार्मिक कार्यक्रमहरूमा आगामी दिनमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्।
त्यस्तै, पनौती वडा नं. ११ का वडाअध्यक्ष विपिन लामाले निर्माणाधीन लक्ष्मी नारायण पाँचायन मन्दिरलाई स्थानीय सरकारको निरन्तर सहयोग रहने बताउँदै मन्दिर सिंगो जिल्लाको धार्मिक गौरव र जातीय एकताको प्रतीक बनेको उल्लेख गरे।
प्रमुख वाचक पण्डित हरिहर सुवेदीका अनुसार चर्तुमाशको अवधिमा भगवान विष्णुले हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म बलिराजाको पाताललोकमा शयन गर्ने पौराणिक विश्वास रहँदै आएको छ। यस अवधिमा शिव आराधना, नाग पूजा, जनै पूर्णिमा, तीज, पितृ तर्पण, देवी पूजा, नवरात्र, तिहारजस्ता महत्वपूर्ण चाडपर्वहरू पर्दछन्। सुवेदीले यस अवधिलाई सत्संग, पुराण वाचन, व्रत बस्ने र तीर्थयात्रा जस्ता धार्मिक क्रियाकलापका लागि अत्यन्त लाभदायक समयका रूपमा व्याख्या गरे।
चर्तुमाशा भागवत सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै मन्दिर निर्माण समितिका अध्यक्ष महेश थापाले निर्माणाधीन लक्ष्मी नारायण पाँचायन मन्दिरको निर्माण कार्यलाई थप गति दिन आर्थिक तथा भौतिक सहयोगका लागि भक्तजन तथा सहयोगीदाताहरूमा अनुरोध गरेका छन् ।






