टीओबीका तेन्जिनले नागरिकताका बुबालाई चिनेनन्
टीओबी (तिब्बतीयन ओरिजिनल ब्लड) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकतामाथि अनुसन्धान गरेको प्रहरीले नागरिकतामा बाबु उल्लेख भएका व्यक्तिको समेत पहिचान गरी अनुसन्धान अघि बढाएको छ ।
तेन्जिनको नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख थियो । प्रहरीले ती व्यक्तिको पहिचान गरेर आइतबार मात्रै जिल्ला प्रहरी परिसर ललितपुरमा उपस्थित गराएको थियो । काठमाडौं महानगरपालिका–६ बौद्धमा बस्दै आएका कृष्णबहादुरलाई पहिचान गरी परिसरमा उपस्थित गराए पनि उनीहरू दुवैले एकअर्कालाई चिनेनन् ।
आफ्नो बाबु दाबी कृष्णबहादुरलाई तेन्जिनले चिनेनन् । आफ्नो छोरा भन्दै नागरिकता बनाइएका व्यक्ति तेन्जिनलाई पनि कृष्णबहादुरले चिनेनन् ।
त्यसपछि तेन्जिनको नागरिकता झनै शंकाको घेरामा परेको छ । नक्कली बाबु खडा गरेर प्रशासनबाट नागरिकता बनाइएको आशंका प्रहरीले गरेको छ ।
नागरिकता बनाउन पेस गरिएका विवरणहरू जेनजी आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय आगजनी हुँदा जलेर नष्ट भएकाले अनुसन्धानका लागि समस्या भएको प्रहरीले बताएको छ ।
बाबु नाम उल्लेख गरिएका कृष्णबहादुरले भने नागरिकता बनाइदिएको बारेमा आफूलाई केही जानकारी नभएको दाबी गरेका छन् । आफ्नो नाम उल्लेख भए पनि नागरिकता बनाएको बारेमा केही जानकारी नभएको दाबी कृष्णबहादुरले गरेको प्रहरी स्रोतले बतायो ।
नागरिकता शंकास्पद देखिएपछि प्रहरीले उनीविरुद्ध अहिले किर्तेको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
उनको नागरिकता पनि शंकास्पद देखिएपछि अहिले लिखतसम्बन्धी कसुरअन्तर्गत पनि अनुसन्धान अघि बढाइएको हो ।
काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध गराएको आफ्नो विवरणअनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता २०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।
तर, यी विवरणहरू महानरपालिकाको रेकर्डमा दाँज्दा भेटिएनन् । काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार वडाको ढड्डामा तेन्जिनले पेस गरेका विवरणहरू भेटिएनन् ।
२६ असोजमा पक्राउ परेका तेन्जिनविरुद्ध सुरुमा प्रहरीले अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो । अहिले भने किर्तेका साथै लागुऔषधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए ।
तेन्जिन दावाको कोठा खानतलासी गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले बताएको छ । दावाको कोठाबाट गाँजा बरामद भएपछि उनीमाथि लागुऔषधको कसुरमा पनि म्याद लिएर अनुन्धान अघि बढाइएको हो । लागुऔषधको कसुरमा ९० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले यो समूहको खोजी सुरु गरेको थियो ।






