पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ / हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले गर्दा देशका केही क्षेत्रमा मौसममा परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस प्रणालीको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसोको मौसम: दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। विशेष गरी, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसम: राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यद्यपि, देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले यात्रा गर्ने तथा बाहिरी गतिविधिमा संलग्न हुनेहरूलाई मौसमको जानकारी लिएर सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक तयारी गर्न सुझाव दिइएको छ ।






