सिन्धुपाल्चोकमा भिड नियन्त्रण तथा कर्फ्यू सम्बन्धी संयुक्त अभ्यास सम्पन्न

सिन्धुपाल्चोक/ सशस्त्र प्रहरी बल, नेपाल नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त सहभागितामा कृतिम घटनामा आधारित भिड नियन्त्रण तथा कर्फ्यू कार्यान्वयन सम्बन्धी संयुक्त अभ्यास (Simulation Exercise) सम्पन्न गरिएको छ।

 कात्तिक १९ गते सशस्त्र प्रहरी बल, नेपाल नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोकको परिसरमा सम्पन्न उक्त अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला प्रमुख अतिथि रहेका थिए।

सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेल र सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल विशेष अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

अभ्यासका क्रममा कृतिम रूपमा सिर्जना गरिएको घटनामा भिड नियन्त्रण, कर्फ्यू आदेशको कार्यान्वयन, भीड व्यवस्थापनमा प्रयोग गरिने रणनीति र संयन्त्रहरूको व्यवहारिक प्रदर्शन गरिएको थियो।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार यस प्रकारका संयुक्त अभ्यासले आकस्मिक अवस्था वा असामान्य सुरक्षा परिस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, दक्षता र प्रतिक्रिया क्षमतामा थप सुधार ल्याउने विश्वास लिइएको छ।