सीमा सुरक्षाको महत्व र अपराध नियन्त्रणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक/ सशस्त्र प्रहरी बल, नेपालले अंगिकार गरेका प्रमुख एजेन्डा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलन र विपद् व्यवस्थापन (BIRD) अन्तर्गत सीमा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ “सीमावासीसँग सशस्त्र प्रहरी” अभियान अन्तर्गत सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 कात्तिक १८ गते सशस्त्र प्रहरी बल, नेपाल नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोकको आयोजनामा भोटेकोशी गाउँपालिका–२ मा “सीमा सुरक्षाको महत्व र सीमा अपराध नियन्त्रण” विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल रहेका थिए। सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, सशस्त्र प्रहरी बल, नेपाल नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक अच्युत कुमार मजगैयाँ, भोटेकोशी गाउँपालिका–२ का वडा अध्यक्ष कुमार श्रेष्ठ, वडा नं.३ का अध्यक्ष निमा सोना शेर्पा, वडा नं.४ का अध्यक्ष टासी शेर्पा, साथै भोटेकोशी र जुगल गाउँपालिकाका जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

त्यसैगरी तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडाल, इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगत बहादुर राई, सशस्त्र प्रहरी बल नेपाल बीओपी तातोपानीका प्रमुख देवेन्द्र महर्जन, अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि, सीमा सहजीकरण समितिका सदस्य, स्थानीय युवा क्लबका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सीमा सुरक्षाको संवेदनशीलता, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, सीमा अपराध र अतिक्रमण रोकथाम, सीमा चिन्हहरूको संरक्षण र स्थानीय तहसँगको समन्वयका विषयमा छलफल गरिएको थियो।

सशस्त्र प्रहरी बल, नेपालले सीमाक्षेत्रमा देखापर्ने चुनौतीहरू समाधान गर्न सीमावासीहरूसँग निरन्तर संवाद, सहकार्य र विश्वासका सम्बन्ध सुदृढ गर्दै सीमा सुरक्षामा सामुदायिक सहभागिता बढाउने नीति अवलम्बन गरेको जनाएको छ।