बनेपामा आजदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुँदै
तस्वीर: सामाजिक सञ्जाल
बनेपा/काभ्रेको बनेपामा आजदेखि परम्परागत एवं धार्मिक महत्व बोकेको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सुरु भएको छ।
प्रत्येक १२ वर्षमा एक पटक आयोजना हुने यो देवी नाच बनेपाको ऐतिहासिक लायकु डबलीमा कात्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिकी संयोजक तथा बनेपा नगरपालिका वडा नं. ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन्।
उनका अनुसार भक्तपुरबाट विधिवत् रूपमा देवीको प्रस्थान गराई आज दिउँसो २ बजे बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ। सांस्कृतिक बाजागाजासहितको मंगलयात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइने र मध्यरातसम्म परम्परागत शैलीमा देवी नाच प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
श्री श्वेतकालीको यो नाच परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्यहरू तथा स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने बताइएको छ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यका अनुसार परापूर्वकालदेखि सञ्चालन हुँदै आएको यो देवी नाच देशकै धार्मिक र सांस्कृतिक गौरवका रूपमा रहेको छ। उनले यो परम्परा नयाँ पुस्तामा हस्तान्तरण गरी संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए।
१२ वर्षमा एक पटक काठमाडौंको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, कालभैरव पछाडिको डबली, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा श्री श्वेतकाली देवी नाच सञ्चालन हुने परम्परा रहेको छ।






