काठमाडौं ल्याइएको मेलम्ची खानेपानी स्थानीयले बन्द गरे

काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी पठाउने मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयवासीले पूर्णरूपमा बन्द गरेका छन् ।

विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समिति, राजनीतिक दल र बाढी प्रभावितले पानी पथान्तरण बन्द गरेका हुन् । आफूहरूको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरूपमा बन्द गरेको उनीहरूको भनाइ छ ।

मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेबापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयवासीको माग छ । उनीहरूले बाढी प्रभावितलाई राहत वितरण गर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नसमेत माग राखेका छन् ।