राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनको भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुनुका साथै फलदायी भएको बताए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिँदै सचिव राईले यो भ्रमणले अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सुदृढ तुल्याएको उल्लेख गरे । भ्रमणले नेपालजस्ता विकासोन्मुख राष्ट्रको हितमा आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय, समावेशिता र दिगो विकासप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका थिए । उनले गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा, महिला तथा युवा सशक्तीकरणका लागि विश्व समुदायबीच थप सहकार्य र हातेमालो गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति पौडेल कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल–थानीको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजित उक्त सम्मेलनमा सहभागी हुन कात्तिक १७ गते काठमाडौँबाट प्रस्थान गरे ।

राष्ट्रपति पौडेलले समावेशिता र साझा समृद्धिलाई दिगो शान्ति, समुन्नति र मानवीय मर्यादाको आधारशिला भएको उल्लेख गर्दै सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित हुने भविष्य निर्माणमा जोड दिएका थिए ।

राष्ट्रपति पौडेलले न्यायपूर्ण, समावेशी र दिगो विकासका लागि स्रोतसाधनमा समतामूलक पहुँच दोहा घोषणापत्रको प्रभावकारी कार्यान्वयन तथा अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको सचिव राईले बताए ।

उच्चस्तरीय गोलमेचमा राष्ट्रपति पौडेलको सम्बोधन

राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ शीर्षकको उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गरेका थिए ।

त्यसैगरी, राष्ट्रपति पौडेलले दिगो र मानव–केन्द्रित सामाजिक विकासका लागि सुदृढ लोकतन्त्र, समावेशी नीति, जवाफदेही संस्था र पारदर्शी सार्वजनिक सेवा आवश्यक रहेकामा जोड दिएको सचिव राईले बताए ।

भ्रमणका दौरान राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति पौडेलले नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका गम्भीर असर व्यहोर्नु परेको बताउँदै ती असर न्यूनीकरणका लागि अन्तरराष्ट्रिय सहयोग बढाउन आग्रह गरेका थिए । त्यस अवसरमा नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको सम्बन्ध सुदृढीकरणका विषयमा विचार–विमर्श भएको सचिव राईले बताए ।

महासचिव गुटेरेसले नेपालले संयुक्त राष्ट्र शान्ति मिसनमार्फत विश्व शान्ति र सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै जलवायु परिवर्तनको असरको मारमा परेका नेपालजस्ता मुलुकलाई अनुकूलनका लागि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नेपालका लोकतान्त्रिक संस्थाहरू आफ्ना समस्या समाधान गर्न सक्षम रहेकामा राष्ट्रसङ्घको विश्वास रहेको बताएका थिए ।

राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा कतारका अमीर महामहिम शेख तमिम बिन हमाद अल–थानीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी भएका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले दोहास्थित नेपाली राजदूतावासको अवलोकन गर्नुका साथै त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरी उनिहरूको अवस्थाबारे जानकारी लिएका थिए । साथै कतारमा रहेका नेपाली श्रमिक र व्यवसायीको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेल कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले राष्ट्रपति पौडेलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी थिए ।

राष्ट्रपति पौडेलको नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती सविता पौडेल, सञ्चार विज्ञ किरणकुमार पोखरेल तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए ।