शर्मा, भुसाल र चन्दबीच वामपन्थी सहकार्य गर्ने सहमति
काठमाडौं / नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसाल र कम्युनिस्ट पार्टी नेपाल (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दबीच वामपन्थी सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको छ।
शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लवको निवासमा बसेको भेटवार्तामा तीन नेताबीच बृहत् वामपन्थी अभियान सञ्चालनका लागि सहकार्य गर्ने सहमति बनेको हो।
आगामी दिनमा गठन गरिने नयाँ वाम मोर्चाको नाम र संरचना सम्बन्धी विषयमा थप छलफल जारी रहेको एक नेताले जानकारी दिएका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति यी तीन नेताहरू असन्तुष्ट रहेकाले वैकल्पिक वाम ध्रुव निर्माणको प्रयास सुरु भएको बताइएको छ।
एमाले र नवगठित नेकपासँग असन्तुष्ट नेताहरूबीच छुट्टै राजनीतिक ध्रुवीकरण हुने चर्चा चलिरहेका बेला भएको यो भेटवार्ताले वाम राजनीतिमा नयाँ समीकरणको संकेत गरेको छ।






