भदौ २४ को घटनामा आफ्ना कार्यकर्ताको संलग्नता रास्वपाको स्वीकारोक्ति
काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंसमा आफ्नै राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको स्वीकार गरेको छ।
चितवनमा सुरु भएको केन्द्रीय समिति विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फोटो र भिडियो प्रमाणका आधारमा कार्यकर्ताको सक्रियता पुष्टि भएको उल्लेख छ।
प्रतिवेदनमा भदौ २४ को घटना योजनाबद्ध हुनसक्ने आशंका पनि गरिएको छ। रास्वपाले भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष र जनविश्वासयोग्य छानबिन माग गर्दै दोषीलाई कारबाही गर्नुपर्ने जनाएको छ।
कार्यवाहक सभापति अर्यालका अनुसार दोषीलाई कारबाही नगरी न्याय सम्भव छैन र दण्डहीनता जारी रहे भविष्यमा यस्ता घटना दोहोरिन सक्ने खतरा रहन्छ। उनले निष्पक्ष छानबिनबाट मात्रै राज्यको जवाफदेहितासँगै जनविश्वास पुनःस्थापित हुन सक्ने बताएका छन्।






