३० लाख नागरिकले राजश्व बुझाए पनि पाएका छैनन् ‘लाईसेन्स’, ६ महिनामा सक्ने तयारी
विकास तिमल्सिना
श्रीखण्डपुर, पनौती
काभ्रेको पनौती नगरपालिका–५ स्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा ड्राइभिङ लाइसेन्स छपाइ शुरु गरिएको छ । यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्र मार्फत १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गर्ने सहमति गरेको छ । तर ३० लाख नागरिकले राजश्व बुझाउँदा पनि लाईसेन्स प्राप्त गर्न सकेका छैनन ।
‘यतिखेर हामीसँग ३० लाख नागरिकले लाईसेन्स अर्थात सवारी चालक अनुमतिपत्रका लागि राजश्व बुझाएका छन् । उनिहरुलाई कार्ड उपलब्ध गराउन सकिएको छैन । कागजको चिर्कटो बोकेरे हिड्नु पर्ने बाध्यता छ’–यातायात ब्यवस्था विभागका निमित्त महानिर्देशक नरहरी तिवारीले भने–‘कानूनी र प्राविधिक कारण हामीले समयमा नै लाईसेन्स छपाई गर्न सकेनौं । नागरिकको आक्रोश छ । त्यसको ब्यवस्थापनका लागि पटक पटकको प्रयास स्वरुप सुरक्षण मुद्रण केन्द्रसँगको सम्झौता पनि हो ।’
नेपालमा प्राप्त गरेको सवारी चालक अनुमतिपत्र विश्वका ४० देशमा सहजै स्वीकृत हुन्छ । विभागका निमित्त महानिर्देशक तिवारीले भने–‘नेपालमा लाईसेन्स लिएर विदेश गएका ब्यक्तिले ४० वटा देशमा सहजै सवारी चलाउन पाउँछ । त्यहि कारण पनि गुणस्तर सवारी चालक अनुमतिपत्रका लागि प्रयास गरिएको हो ।’ सन् २०१८/२०१९ देखि नेपालमा चिप्स सहितको कार्ड अनिवार्य गरिएको हो । २०२२ सम्म सहज रुपमा नेपालीहरुका लागि चिप्स सहितको कार्ड उपलब्ध गराएको भए पनि त्यस पछि ठेक्का नलाग्नु र संघीय सरकारको अधिकार प्रदेश सरकारलाई गए पछि झनै कठिन भएको उनले बताए । क्षमता अनुसार कार्ड छपाईको कार्य हुन नसक्दा नागरिकहरुलाई कागजको चिर्कटो दिएर पठाउनु परेको उनले बताए ।
‘केहि सीप नलागे पछि नियमावली शंशोधन गरेर भए पनि क्यु आर मार्फत सवारी चालक अनुमतिपत्र उपलब्ध गर्ने ब्यवस्था ग¥यौं । प्रदेश सरकारको हकमा पनि सुरक्षण मुद्रण केन्द्रबाट कार्ड छाप्ने गरी सम्झौता गर्न आवश्यक छ’–उनले भने–‘राजनीतिक र प्रशासनिक प्रतिवद्धताले मात्रै यो कार्य प्रारम्भ भएको छ ।’ बैदेशिक रोजगारमा जाने, अध्ययनका लागि विदेश जाने, शान्ति सेनामा जाने सुरक्षा निकायका प्रतिनिधिहरु तथा तत्काल आवश्यक पर्ने ब्यहोरा खुलाएर निवेदन दिएका नागरिकहरुका लागि चिप्स सहितको लाईसेन्स कार्ड वितरण गरिरहेको उनले बताए । अन्य मुलुक जाने ब्यक्तिलाई गुणस्तर सहितको चिप्स कार्ड आवश्यक भएकाले उक्त ब्यवस्था गरिएको भए पनि नेपालमा नै भएका ३० लाख ब्यक्तिलाई कार्ड वितरण गर्न नसकिएको उनले बताए ।
‘२७ करोड ६० लाख रुपैया १२ लाख लाईसेन्स छपाईका लागि सुरक्षण मुद्रण केन्द्रलाई उपलब्ध गराएका छौं । पहिलो प्रति लाईसेन्स छपाई बापत ३ सय रुपैया तिर्नु पर्दथ्यो । अहिले २ सय रुपैयामा सम्झौता भएको छ’–उनले भने–‘सरकारी प्रेस र सरकारी कार्यका लागि सस्तो मात्रै छैन भरपर्दाे र गुणस्तरीय सेवाका लागि पनि यो महत्वपूर्ण विकल्प सम्झेर सम्झौता गरेका हौं ।’ लाईसेन्सको अवधी अब १० वर्षको हुनेछ । १० वर्षका लागि पुग्ने गुणस्तरीय खालको कार्ड छाप्ने गरी केन्द्रलाई जिम्मेवारी दिएको तिवारीले बताए । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच क्षतिग्रस्त भएको विभागको सूचना प्रणाली पूर्वाधारबाट लाइसेन्सका विवरण रिकभर भएपछि तुरुन्तै लाइसेन्स छपाइ सहज हुने उनले बताए । ‘अहिले जति रिकभर हुन्छ त्यति पठाउने र छाप्ने कार्य प्रारम्भ भएको छ’–तिवारीले भने–‘विभागले अहिले सवारीचालक अनुमतिपत्रसम्बन्धी विवरण रिकभरको काम गरिरहेको छ । लाइसेन्स छाप्ने मेसिन सहितका उपकरण गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्ने भएको हो ।’
२०८२ जेठमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । केही दिनअघि मात्रै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच क्षतिग्रस्त भएको विभागको सूचना प्रणाली पूर्वाधारबाट लाइसेन्सका विवरण रिकभर भएपछि तुरुन्तै लाइसेन्स छपाइ थाल्ने समझदारी भएको थियो । सोही अनुसार विभागले अहिले सवारीचालक अनुमतिपत्रसम्बन्धी विवरण रिकभरको काम गरिरहेको छ । केन्द्रका अनुसार विभागसँगको समन्वयमा १२ लाख लाइसेन्स छपाइको कार्य शुरु भएको छ ।






