धर्म गरेकाले आफ्नो घर भगवानले बचाएको पुर्वमुख्यमन्त्रीको अहंकारपूर्ण अभिव्यक्ति गलत छः लामा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले धर्म गरेकाले आफ्नो घर भगवानले बचाएको पुर्वमुख्यमन्त्री एवं केन्द्रिय सदस्य बहादुरसिं लामाको अहंकारपूर्ण अभिव्यक्ति गलत रहेको बताएका छन् । ललितपुरको सानेपास्थित वीपी स्मृति भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै लामाले यस्तो बताएका हुन् । जेन–जी आन्दोलनको क्रममा बीपी कोइरालाको घर, शालिक तोडफोड र आगजनी भएको, सन्तनेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहका घर जलाइएको, पार्टीको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला पार्टी कार्यालय, थुप्रै नेताहरूका घर जलाइएको चर्चा गर्दै तर, धर्म गरेका कारण आफ्नो घर भगवानले बचाइदिएको भन्दै केन्द्रीय सदस्य बहादुर सिंह लामाले दिएको अभिव्यक्तिको आलोचना गरे ।

त्यस्तो अभिव्यक्ति अहंकारपूर्ण भएको भन्दै उनले यस्ता घटनालाई धार्मिक, जातीय र क्षेत्रीय रूपमा जोड्न नहुने धारणा राखे ।

‘एउटा प्रदेशको मुख्यमन्त्री भइसकेको केन्द्रीय स्तरको नेताले यस्तो धार्मिक असहिष्णु धारणा राख्नु हुँदैन,’ लामाले भने, ‘त्यस्तो अहंकारपूर्ण अभिव्यक्ति गलत छ । यस्ता घटनालाई धार्मिक, जातीय क्षेत्रीय रूपमा जोड्नु हुँदैन । मानवताको मूल्यका आधारमा हेरिनुपर्दछ ।’

उनले बागमती प्रदेशका वर्तमान मुख्यमन्त्रीले सकारात्मका काम सुरुवात गरेको बताए ।

‘मुख्यमन्त्रीका रूपमा प्राप्त हुने सुविधालाई दलित, अल्पसंख्यक, गरिक र विपन्न महिला, वनकरिया, चेपाङलाई दिनुभएको छ । सय दिन पनि नपुगेको उहाँको सरकारकाले राम्रो काम गरिरहेको छ, आलोचना आवश्यक छैन,’ लामाले भने ।

उनले बैठकमा महामन्त्रीले आगामी महाधिवेशनका सम्बन्धमा पेश गरेको कार्यतालिका र अर्का सहमहामन्त्रीले धारणा राख्द पेश गरेको तालिकाको बीचमा शीर्ष नेताहरूले सहमति जुटाएर महाधिवेशनको नयाँ तालिका सार्वजनिक गर्नुपर्ने धारणा राखे । फरक प्रसंगमा उनले फरार कैदी, लुटिएका हतियार र दण्डहीनता आसन्न निर्वाचनको लागि बाधक रहेको बताएका छन् । लामाले भयरहित निर्वाचनका लागि शान्ति सुव्यवस्था पहिलो शर्त रहेको बताए ।

‘जेन–जी आन्दोलनको क्रममा २४ को हिंसापछि कारागारहरूबाट फरार कैदी, प्रहरीबाट लुटिएका हतियार र दण्डहीनता आसन्न निर्वाचनको सबैभन्दा ठूला चुनौती हुन्,’ केन्द्रीय सदस्य लामाले भने, ‘निर्वाचनका लागि शान्तिसुरक्षा अनिवार्य शर्त भएकाले भयरहित वातावरणमा जनसहभागिताका लागि सरकारले जिम्मेवारी पूरा गर्नुपर्नेछ । तर, सरकारका मन्त्रीहरू अराजकतालाई बढावा दिने अभिव्यक्ति दिइरहेका छन् ।’

जेन–जी आन्दोलनको क्रममा २३ भदौको प्रदर्शन र २४ भदौको लुटपाटमा परेर मृत्यु भएकालाई सरकारले एउटै व्यवहार गरिरहेको उनले दाबी गरे ।

लामाले छानबिन आयोगलाई समेत प्रभावित पार्ने प्रयास भइरहेको बताए ।

‘२३ र २४ मा मृत्यु भएका सबैलाई एउटै व्यवहार उचित हुँदैन । सरकारले त्यही गरिरहेको छ,’ लामाले थपे, ‘२४ गते निजी सम्पत्तिमाथिको आगजनी र तोडफोडका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्दछ । तर, सरकार सस्तो लोकप्रियतामा रमाइरहेको छ ।’

अब प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानु पर्ने भन्दै लामाले पार्टीभित्रका जेन–जी उमेर समूहका युवालाई समेत एजेन्डा बोकाएर गलत दिशामा हिँडाउने प्रयास भइरहेको जिकिर गरे ।

भूराजनीति अवस्थितिको कारण नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानु हुँदैन भन्ने चेत जगाउन जरुरी रहेको उनले बताए। लामाले पार्टीका सबै तहमा निश्चित प्रतिशत युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा पनि राखे ।