३३ अर्बको योजनामा ३ अर्ब लगानी, सुरक्षण मुद्रण केन्द्रका यस्ता छन् भावी योजना
मोतीराम तिमल्सिना
श्रीखण्डपुर,पनौती
आगामी ६ महिना भित्र काभ्रेको पनौती स्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रुपमा संचालनमा ल्याउने गरी तयारी गरिएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताएका छन् । केन्द्रमा हालसम्म ३ अर्ब भन्दा धेरै लगानी भईसकेको छ ।
शुक्रबार सवारी चालक अनुमतिपत्रको छपाई कार्य प्रारम्भ गरे पछि आयोजित कार्यक्रममा केन्द्रको हालको अवस्था र भावी योजनाका बारेमा सुनाउँदै कार्यकारी निर्देशक ढुंगानाले भने–‘सरकारको विश्वास, सबैको साथ र समन्वय भएमा आगामी ६ महिना भित्र ९ वटा कागजातमा आधारित सेवा उपलब्ध गराउन सक्नेछौ भने ५ वर्ष भित्र सुरक्षण मुद्रण केन्द्रबाट सरकारलाई बार्षिक लगानीको २३.७४ प्रतिशत मुनाफा दिन सक्छौ ।’ ‘६ महिना मित्र २ वर्ष देखि घाम,पानी र धुलो खाईरहेका मेशिनहरु इस्टलेशसन सक्छौ । ३ सिफ्टमा केन्द्र संचालनमा ल्याउँछौं । नागरिकता, अन्त शुल्क स्टिकर, लालपुर्जा, हुलाक टिकट, भिसा स्टिकर छाप्नेछौं’–कार्यकारी निर्देशक ढुंगानाले भने–‘कागजातमा आधारित, काडर्मामा अधारित र बैक नोटमा आधारित सेवाका लागि अलग अलग योजना निर्माण गरेका छौं ।’
पटक पटक अदालत, अख्तियारमा उजुरी परे पछि २ वर्ष देखि रोकिएको कार्य जोखिम उठाउँदै सबै निकायसँगको सहकार्यमा प्रारम्भ गरिएको उनले बताए । ‘३ अर्ब लगानी जोखिममा मात्रै परेन । खरिद गरिएका ५० करोडका मेशिन अलपत्र परे । प्रेसका लागि आवश्यक हुने सामाग्री खेर जान थाल्यो । ६० करोडको ३ वटा डिजेल प्लान्ट अलपत्र भयो । जसबाट ४ मेघावाटको उर्जा निकाल्ने जेनेरेटर सहितका उपकरणहरु खिया लागिरहेका थिए । भवन खण्डहर बनेको थियो’–कार्यकारी निर्देशक ढुंगानाले भने–‘११ प्रकारका सेवा उपलब्ध गराउन केन्द्र सक्षम छ । खरिद नियमावली १४ औ शंशोधनले अवरुद्ध ठेक्का सूचारु भएको छ । केन्द्र भित्र रहेका ७ वटा ठेक्का सूचारु भएका छन् । छपाईका नाममा अर्बाै रकम विदेशिने अवस्थाको अन्त्य हुनेछ ।’
सरकारले सुरक्षण मुद्रण केन्द्र सम्वन्धी ऐन २०८१ जारी गरेको छ । ३३ अर्ब लगानी गर्ने महत्वकाँक्षी योजनालाई ८ अर्बमा सिमित गरिएको उनले बताए । त्यो मध्ये आधा भन्दा धेरै लगानी भईसकेको छ । केहि रकम भुक्तानी दिन बाँकी छ । ६२ जना कर्मचारीको दरवन्दी स्वीकृत गरिको छ । ठेक्काको म्याद थप, बजेट सुनिश्चितता र सामाजिकीकरण गर्ने प्रयत्न शुरु भएको उनले बताए । ६ वटा मन्त्रालयका ९ वटा स्टेक होल्डरसँगको सहकार्यमा सुरक्षण मुद्रण केन्द्रले कार्य गरिरहेको बताउँदै उनले सवारी लाईसेन्सको गुणस्तरका बारेमा ब्याख्या गरेका थिए । अगाडी पट्टि २३ वटा र पछाडी पट्टि १६ वटा सुरक्षा कोड राखिएको, क्युरमा सहज गराईएको, १० वर्षसम्मको अवधीमा पनि केहि नहुने गरी गुणस्तर कायम गरिएको जस्ता विशेषता रहेको ढुंगानाले बताए । मन्त्रीपरिषद्को पहिलो बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेसँगै केन्द्रबाट छपाई कार्य प्रारम्भ गर्ने सहजता भएको बताउँदै ढुंगानाले सिंगापुर देखि प्राविधिक ल्याएर मेशीन संचालन गरिएको बताए । अब सहज र द्रुत गतिमा सुरक्षण मुद्रण केन्द्रको कार्य अघि बढ्ने उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले पुर्व मन्त्रीहरु गोकुल बास्कोटा र पृथ्वी सुब्बा गुरुङले सुुरक्षण मुद्रण केन्द्र खोल्न गरेको योगदानको स्मरण गरिन् । ‘उहाँ दुई पुर्व मन्त्रीहरु बास्कोटा र गुरुङ्गको हुटहुटी थियो, आज साकार भएको छ’–सचिव अर्यालले भनिन–‘वर्तमान सरकारका मन्त्री जगदीश खरेलले पहिलो निर्णय नै नियमावली शंशोधन गर्नु भयो । त्यसले झनै सहज भयो । अब केन्द्रमा आएका नीतिगत, प्राविधिक र ब्यवहारीक तथा कानूनी झमेला सल्टेका छन् । सरकारले आवश्यक पर्ने श्रोत र जनशक्तिको समेत ब्यवस्थापन गरिसकेको छ ।’ कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले स्थानीय सरकारले आवश्यक समन्वय र सहकार्य गर्ने बताए ।
सुरक्षण मुद्रण केन्द्र काभ्रेमा राख्ने निर्णय गर्ने मन्त्री थिए गोकुल बास्कोटा । उनी मन्त्री रहँदा शुरु भएका केहि कार्य निरन्तर भए पनि सरकार विघटन भएसँगै त्यसले निरन्तरता पाउन सकेन । लगत्तै मन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीले ठेक्का लगाए तर त्यसले सार्थकता पाउन सकेन । विविध कारणवश निर्माण ब्यवसायीले समयमा जिम्मेवारी पुरा गर्न सकेनन् । केन्द्र भित्र ७ वटा ठेक्का लागेका थिए । सबै अलपत्र अवस्थामा थिए । खरिद सम्वन्धी १४ औ शंशोधन पछि सबै ठेक्का सूचारु भएका छन् । नेपालको गौरव, काभ्रेको शान सुरक्षण मुद्रण केन्द्र सूचारु हुँदा राष्ट्रलाई नै फाईदा पुग्ने तत्कालिन मन्त्री गोकुल बास्कोटाले बताए ।





