प्रतिनिधि सभा निर्वाचनको ६० प्रतिशत प्रक्रियागत तयारी सकियो

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताएका छन् । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताए ।

चुनावको तयारीबारे समितिले गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरे पनि अहिले संविधान यथावत् रहेको बताए । संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम विकल्प भएको बताएका हुन् । ।

निर्वाचन आयोगमा दर्ता रहेका र विभिन्न तहहरूमा प्रतिनिधित्व गरेका २९ राजनीतिक दलसँग परामर्श भइसकेको उनको भनाइ थियो । राजनीतिक परामर्शका क्रममा कुनै पनि दलले निर्वाचन अस्वीकार नगरेपछि केही पूर्वसर्त भने रहेको बताए। उनले राजनीतिक रूपमा चुनावको वातावरण र शान्ति सुरक्षामा दलहरूको चासो रहेको पनि समितिमा बताए।