राष्ट्रपति रनिङ शिल्ड: इतिहास, स्वरुप र महत्व
यहि कात्तिकको २८, २९ र ३० गते वागमती प्रदेश अन्तर्गतको काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ । यो एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । २०६५ साल सम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो । २०६५ साल साउनमा नेपालमा प्रथम राष्ट्रपति निर्वाचन भएपछि यस प्रतियोगिताको नाम राष्ट्रपति रनिङ शिल्ड रहन गयो । त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुवात २०६६ साल देखि भएको हो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चालु शैक्षिक सत्रमा १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र छात्राहरू बीच आ–आफ्नो समूहमा हुने भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट प्रतियोगिताहरू पर्दछन् । यो प्रतियोगिता स्थानीय तह स्तर, जिल्ला स्तर, प्रदेश स्तर र केन्द्र स्तरमा संचालन हुन्छ । तर अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० बनाई लागु गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड एक नियमित प्रतियोगिता भएकोले अघिल्लो वर्षको शिल्ड नै बिजयीलाई रनिङ शिल्डको रुपमा उपलब्ध गराउने व्यवस्था छ । तर लगातार ३ वर्ष सम्म एउटै विद्यालय, स्थानीय तह, जिल्ला र प्रदेश शिल्ड जितेमा सो शिल्ड उनीहरूले सँधैका लागि राख्न पाउने व्यवस्था छ । आगामी वर्षको प्रतियोगिताको लागि आयोजकले नयाँ शिल्ड बनाउनु पर्नेछ । प्रतियोगिता संचालन गर्न खेलकुद पुर्वाधार पर्याप्त भएको विद्यालय, जिल्ला र प्रदेशमा आलोपालो गर्नुपर्दछ । प्रत्येक वर्षको लागि खेलको प्रतीक चिन्ह (मस्कट) केन्द्रीय समितिले सिफारिस गरे बमोजिम हुन्छ ।
स्थानीय तह स्तरको उत्कृष्ट खेलाडीले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्न पाउने र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रदेश स्तरमा प्रतिस्पर्धा गराइन्छ । यसरी सातै प्रदेशमा प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराइन्छ ।
भनिन्छ नि घर बलियो हुनलाई जग राम्रो हुनुपर्छ । यो सबैले सुनेकै उखान हो । खेलकुदमा पनि यस्तो हुन्छ । स्कुल जीवनदेखि नै खेलकुदको विकास गर्न सकियो भने भविष्यमा सो देशकै खेलकुदको स्तर राम्रो हुन्छ । सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन र राम्रो प्रतिभा खोज्न पर्छ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा राख्न सक्ने खेलाडी मिल्छ । अनि खेलले नेपालको नाम उँचो हुन्छ । ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने देशहरूले खेलकुद विकासको पहिलो लक्ष्य स्कुललाई बनाएको हुन्छ । विद्यार्थी जीवनमा नै प्रतिस्पर्धा गर्ने अवसर पाएमा राम्रो अनुभव पनि हासिल हुने गर्दछ ।
भाइबहिनीहरू, तिमीहरूलाई यस लेखमा विद्यालय खेलकुदलाई महत्व दिएर देशभरि हुने एउटा प्रतियोगिताका बारेमा जानकारी दिने छौँ । जुन प्रतियोगितामा नेपालका सबै जसो विद्यालयले सहभागिता जनाउन पाउँछ । हाम्रो देशमा स्कुल स्पोट्र्सलाई महत्व दिएर देशभर हुने प्रतियोगिता राष्ट्रपति रनिङ सिल्ड हो । यो खेलकुद मेला सुरु भएको १५ वर्ष भयो । विगतमा २०३१ सालमा विद्यालय खेलकुदको अवधारणामा वीरेन्द्र सिल्ड सुरु भएको थियो । ।
देशैभर हुने यो प्रतियोगिता निकै लोकप्रिय थियो । नेपालका हरेक पुराना खेलाडीले वीरेन्द्र सिल्ड खेलेकै हुन्थ्यो तर यस्तो राम्रो प्रतियोगिता निरन्तर भएन । यद्यपि यस्तो खेललाई ब्युँताउनुपर्छ भनेर राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही मोडलमा राष्ट्रपति रनिङ सिल्डको आयोजना गरेको हो । यसको उद्देश्य विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी पहिचान गर्ने हो भनेको छ । नेपालमा गणतन्त्र आएपछि वीरेन्द्र सिल्डकै अनुसरण गर्दै राष्ट्रपति रनिङ सिल्डका रूपमा नयाँ ढङ्गले विद्यालय खेलकुद पुनः ब्युँताएको हो । २०६५ सालमा पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड भएको हो ।
राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको स्वरूप निकै राम्रो छ । तीन चरण पार गरेपछि मात्र केन्द्रमा बृहत् रूपमा राष्ट्रपति रनिङ सिल्डको आयोजना हुन्छ । सुरुमा जिल्ला र त्यसपछि प्रदेश प्रतियोगिता हुँदै छनोट भएका उत्कृष्ट खेलाडी केन्द्रमा हुने राष्ट्रिय रनिङ सिल्डमा खेल्न योग्य हुने गर्दछ । ती उत्कृष्ट खेलाडीहरू खेल्न काठमाडौँ जान्छन् । यस अर्थमा राष्ट्रपति रनिङ सिल्डमा नेपालका सबै जसो विद्यार्थीले सहभागिता जनाउन पाउँछ । त्यसैले राष्ट्रपति रनिङ सिल्डमा हजारौँ विद्यार्थी खेलाडी सहभागी हुन्छ । यसको यो सबभन्दा राम्रो पक्ष हो । यस प्रतियोगिताले गर्दा पनि गाउँगाउँमा पनि प्रत्येक विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेको पाइन्छ । राष्ट्रपति रनिङ सिल्डको १३औँ संस्करण यही वैशाखमा सम्पन्न भयो । यति धेरै वर्ष भए पनि राष्ट्रपति रनिङ सिल्ड विगतको वीरेन्द्र सिल्डजस्तो लोकप्रिय भने हुन सकेको छैन ।
यसको लक्ष्य र उद्देश्य अनुरुप मलजल हुन सकेको छैन । निःसन्देह नयाँ प्रतिभाको खोजी गर्न सकिने यस्तो प्रतियोगिताले थुप्रै खेलाडी जन्माउने मात्र होइन, ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पनि प्रदान गरेको छ । राष्ट्रपति रनिङ सिल्डबाटै सुरुवात गरेर नेपालले केशरी चौधरीजस्ता खेलाडी पनि पाएको छ । यसपालि असाधारण खेलाडी नदेखिए पनि केही प्रतिभा अवश्य देखियो । लुम्बिनीका सुदीप थारू, सुजल डाँगी, रेसु चौधरीजस्ता खेलाडी चम्किए । हुनत विगतमा पनि यस्ता प्रतियोगितामा थुप्रै प्रतिभाशाली खेलाडी नजरमा नआएको होइन तर त्यसपछि तिनीहरूको मलजल गर्ने कार्य भने कहिल्यै भएन । हजारौँमध्येबाट उत्कृष्ट भएका यी खेलाडीलाई अब उचित प्रशिक्षण र शिक्षाको वातावरण मिलाउन सकेमा राष्ट्रपति रनिङ सिल्डको आयोजना सार्थक हुनेछ ।
यसै सन्दर्भमा वागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा २०८२ साल कात्तिक २८ गतेदेखि ३० गतेसम्म ३ दिन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ । २८ गते मण्डनदेउपुरका नगर प्रमुख टोकबहादुर वाइवाले खेलको उद्घाटन गर्नेछन् भने ३० गते समापन समारोहको अवसर पारेर खेलका बिजयी उत्कृष्ट खेलाडीहरुको छनौट, सम्मान र पुरस्कारको कार्य सम्पन्न हुनेछ । यस अवसरमा सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई अग्रिम वधाई सहितको शुभकामना व्यक्त गर्दछु । (लेखक:राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मण्डनदेउपुर नगरपालिका, मूल समारोह समितिका सदस्य हुन्)






