आभाषको १६ औं बार्षिकोत्सव, ६७ लाख मुनाफा

बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष ग्रुवेन तौजलेको अध्यक्षतामा सम्पन्न भएको छ ।
संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, संस्थाका उपाध्यक्ष प्रकाश कायश्थ, निवर्तमान अध्यक्ष दिनेशराज कायश्थ, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रञ्जित, लेखा सुपरिवेक्षण समिति संयोजक विकास बैद्य,संचालक समिति, लेखा समिति तथा विभिन्न उप समितिका पदाधिकारीहरु, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाको पनौतीमा रहेको सेवा केन्द्रमा लक्ष्मीकृष्ण ताम्राकार संयोजक रहेका छन् भने भकुण्डेमा रहेको सेवा केन्द्रमा रामहरी आचार्य संयोजक छन् ।

प्रमुख प्रवन्धक सुबास बैद्यका अनुसार आर्थिक वर्ष २०८१/२०८२ मा उत्कृष्ट हुने शेयर सदस्य, ऋणी, बचतकर्ताहरु, शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एसईई उर्तिण छात्र र छात्रालाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कर्मचारीका रुपमा प्रशासन विभाग अधिकृत श्रीकृष्ण सुवाल सम्मानित भए ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथी सुरकृष्ण बैद्यले पछिल्लो समय नेपालमा भएको आन्दोलनका कारण उद्योग ब्यवसायमा पुगेको क्षति, सरकारको नीति र सहकारीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । नेपाल पत्रकार महसंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले सहकारीहरुले संकटका समयमा पनि सदस्यहरुलाई बचत तथा ऋणको कारोवारमा सक्रिय गराएकोमा धन्यवाद ब्यक्त गरेका थिए । अध्यक्ष ग्रुवेन तौजलेले मुलुकको समग्र अवस्थामा आभाष सहकारीले सदस्यहरुलाई सहज सेवा उपलब्ध गराईरहेको बताए । ६ हजार ७ सय ७८ सदस्यहरु मध्ये ६ हजार ८ शेयर सदस्य, २९ संस्थागत र ९ सय ६४ बाल सदस्य छन् ।

सचिव धर्मभक्त प्रधानले संस्थाका भावि कार्यक्रम प्रस्तुत गरेका थिए । नियमित झै छोरी अभियान कार्यक्रम नयाँ वर्षका दिन र संस्थाको स्थापनाका दिन संचालन गर्ने, मुटु लगायतका विभिन्न रोगसँग सम्वन्धित रहेर स्वास्थ्य शिविरहरु संचालन गर्ने, सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण गर्ने तथा शैक्षिक सामाग्री उपलब्ध गराउने, जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने, बृक्षारोपण गर्ने लगायतका कार्यक्रम प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष सुर्यकुमार रञ्जितले ९३ करोड ९ लाख ४८ हजारको कुल सम्पत्ति रहेको आय ब्यय प्रस्तुत गरेका थिए । उक्त आर्थिक वर्षमा संस्थाले सबै खर्च कटाएर ६७ लाख ८ हजार मुनाफा गरेको छ भने आन्तरिक राजश्व कार्यालय, नगरपालिका लगायतका निकायमा ६७ लाख नै कर बुझाएको छ । जगेडा कोषमा २ करोड ९४ लाख, स्थिर सम्पत्ति १२ लाख ६ हजार, ऋण लगानी ६६ करोड ५७ लाख, बचत ८२ करोड ७६ लाख, शेयर पुँजी ३ करोड ७६ लाख रहेको छ । त्यस्तै जोखिम ब्यहोर्ने कोषमा ३ करोड ५० लाख रहेको छ ।