रास्वपाको विस्तारित बैठक सम्पन्न, घोषित मितिमा निर्वाचन गर्न जोड
चितवन/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने विस्तारित बैठक शनिबार सौराहामा सम्पन्न भएको छ । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार र दलहरूको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकले सबै दललाई लोकतान्त्रिक अभ्यास सुदृढ पार्न सक्रिय सहभागी हुन आह्वान गरेको छ । साथै, घोषित निर्वाचनमा जनमत पार्टी र देशको हितमा हुने गरी जनविश्वास निर्माणमा लाग्न सम्पूर्ण संरचना, सदस्य र शुभेच्छुकलाई आग्रह गरिएको छ ।
प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा जेन जेड प्रदर्शनको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको छ । साथै, राज्य निकायमा जेन जेड पुस्ताको भावना र म्यान्डेटअनुसार सहभागिता सुनिश्चित गर्न पनि जोड दिइएको छ ।
बैठकले आन्तरिक लोकतन्त्र सुदृढीकरण, समावेशिता, र रूपान्तरणका आवाजलाई विधिसम्मत रूपमा सम्बोधन गर्ने निर्णय गरेको छ । साथै, वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि समान विचार भएका परिवर्तनकारी शक्तिसँग संवाद र सहकार्यमा जोड दिएको छ ।
निर्वाचन नजिकिएकाले फागुन ७–९ मा तोकिएको महाधिवेशन स्थगित गर्दै छ महिनाभित्र नयाँ मिति तय गर्न केन्द्रीय समितिलाई आग्रह गरिएको छ । बैठकमा देशभरबाट ५१२ प्रतिनिधिको सहभागिता थियो । विभिन्न पदाधिकारीहरूले राजनीतिक, सांगठनिक, चुनावी र उम्मेदवार छनोटसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।






