सैनिकका श्रीमतीका लागि ब्युटिसियन तालिम सुरु
बनेपा/उपत्यका पृतना मुख्यालयअन्तर्गत श्रीमेहर गण, धुलिखेलले सञ्चालन गरेको तीन महिनाको व्युटिसियन तह–१ तालिम आजदेखि सुरु भएको छ।
तालिमको उद्घाटन सैनिक श्रीमती संघ समारोह उपसमितिकी सल्लाहकार अन्जना खत्रीले पानसमा दिप प्रज्ज्वलन गरेर गरिन्।
कार्यक्रमका प्रमुख अतिथि खत्रीले सहभागीहरूलाई व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गरिन्। उनले भनिन्, “सीप सिक्नु भनेको आत्मबल र आत्मनिर्भरता बढाउने बाटो हो। सिकेका कुरामा निरन्तरता दिन सके जीवनभर उपयोगी हुन्छ।”
कार्यक्रममा श्रीमेहर गणकी गणपति झलक सुवेदीको श्रीमती सरस्वती न्यौपाने सुवेदी, भूतपूर्व सैनिक संघका पदाधिकारीहरू र २० जना प्रशिक्षार्थीहरूको उपस्थिती थियो। यो तालिम बनेपा–७ स्थित भूपू सैनिक शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि.मा सञ्चालन भएको छ ।
सैनिक श्रीमती संघले सैनिक परिवारहरूको हित र कल्याणका लागि विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संघअन्तर्गत सञ्चालन हुने तालिम केन्द्रहरू र उपत्यका बाहिरका विभिन्न युनिटहरूमा व्युटिसियन तह–१ र २, सिलाईकटाई तह–१ र २, मन्टेश्वरी, बेकरी र अचार बनाउने तालिमहरू सञ्चालन भइरहेका छन्।
संघका प्रतिनिधिहरूका अनुसार, यस्ता तालिम पूरा गरेका धेरैजसो सहभागिनीहरू अहिले आ–आफ्नो क्षेत्रमा सीपमूलक पेशामा आबद्ध भइसकेका छन्।






