माधव नेपाल छाडेका ६७ जना केन्द्रीय सदस्यले जुम बैठकबाट भुसाललाई तोके संयोजक

माओवादीसहितका १० वाम गठबन्धनसँगको एकता प्रक्रियामा सहभागी नभएका घनश्याम भुसालको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान गठन गरिएको छ।

शनिबार सम्पन्न जुम बैठकबाट नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान घोषणा गरिएको संयोजक भुसालले जानकारी दिए।

जुम बैठकमा एकता प्रक्रियामा सहभागी नभएका नेकपा समाजवादीका ६७ जना केन्द्रीय सदस्यको सहभागीता रहेको बैठकमा सहभागी अर्का नेता दामोदर अर्यालले बताए।

जुम बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने पनि निर्णय गरेको छ।

यही कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वाम गठबन्धनबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टीको घोषणा हुँदा नेता भुसाल त्यसमा सहभागी भएका थिएनन्। भुसाल एकीकृत समाजवादीका निवर्तमान महासचिव हुन्।

यसबीचमा भुसालले प्रचण्डलाई छाडेका तत्कालिन माओवादीका उपमहासचिव जनार्दन शर्मा, कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लसहितका नेतासँग पनि छलफल गरेका छन्।