मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड
काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवादका बीच प्रदेश प्रमुखको कार्यकक्षमा समेत तोडफोड गरिएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका समूहले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गरेका हुन्। प्रदर्शनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलका प्रदेश सांसद र कार्यकर्ताहरू सहभागी थिए।
प्रदर्शनकारीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड र गमलासहितका सामग्री तोडफोड गरेका छन्। उनीहरू अहिले पनि कार्यालय अगाडि नाराबाजी जारी राखिरहेका छन्।
अस्वस्थ भएर उपचारका लागि काठमाडौँ पुगेकी प्रदेश प्रमुख भण्डारीले यसअघि एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले यादवलाई बर्दिबासस्थित एक होटेलमा शपथ गराएकी थिइन्।
यसअघि मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भएको थियो।






