एमाले फुटाएर जीवनकै सबैभन्दा ठूलो भूल भयोः किसान श्रेष्ठ

by | कार्तिक २४, २०८२

एमाले फुटाएर जीवनकै सबैभन्दा ठूलो भूल भयोः किसान श्रेष्ठ

नेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन् ।

सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीजस्ता पार्टीमा फर्कनका लागि आउनुभएका साथीहरूको जीवनको सबैभन्दा सत्य क्षण हो । विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौं,’ उनले भने, ‘यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो । यो समयले पनि बताएको छ ।’

उनले पुनः जनताको भरोसा जित्नेगरी लाग्ने पनि दाबी गरे ।

‘हामी फेरि जनताको भरोसा जित्नेछौं । हामी फेरि राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौं । आज हामी हृदयबाट भन्न चाहन्छौं, यो फर्काइ केवल राजनीतिक निर्णय होइन । यो जनताको बीच फर्कने यात्राको सुरुवात हो,’ उनले भने ।

आज केही सयको संख्यामा अभियानमा जोडिएको भए पनि देशभर आफूजस्ता बाटो बिराएकाहरू पुनः एमालेमा फर्कने दाबी गरे । ‘म विश्वास दिलाउन चाहन्छु यो अभियानको सुरुवातबाट देशभरी किसान श्रेष्ठजस्ता बाटो बिराएका कमरेडहरू यो अभियानमा जोडिनु हुनेछ,’ उनले भने ।