एमाले विकास, सुशासन र सम्मृद्धिको आकाङ्क्षा देखाउने पार्टी होः रामकुमारी झाँक्री
नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जनताको रक्षक एमालेबाहेक अरू कुनै हुनै नसक्ने बताएकी छन्।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै एकताबद्ध भएर जनतामा गए विश्वास पाउने उनको भनाइ छ।
उनले भनिन्, ‘तपाईँहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ, मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला। त्यो मलाई स्वीकार्य छ। यो आजको वास्तविकता हो। हामी वास्तविकताबाट टाढा हुन सक्दैन। त्यसैले एमाले भर्सेस जेनजी आन्दोलनका स्टेक होल्डरहरू र पीडित पक्षहरूको ध्रुवीकरण भएको छ।’
उनले कुनै सर्तबिना नै एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा सामेल भएको बताइन्।
झाँक्रीले अध्यक्ष केपी ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै भनिन्, ‘खासगरी नेकपा एमाले नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मात्र होइन, लोकतान्त्रिक आन्दोलन, विकास, सुशासन र सम्मृद्धिको आकाङ्क्षा देखाउने पार्टी पनि एमाले नै हो ।’






