धुलिखेलमा विद्यालय तहमा अपाङ्गता सचेतना कार्यक्रम
धुलिखेल/विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी ‘अपांगता रोकथाम र प्रारम्भिक पहिचान’ सम्बन्धी दुई दिन सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कार्तिक १६ र १७ गते (नोभेम्बर २ र ३) आयोजना गरिएको थियो ।
कार्यक्रममा पुर्ण सञ्जीवनी लङ्खनामाई माध्यमिक विद्यालय, स्वेतगणेश माध्यमिक विद्यालय, श्रीखण्डपुर माध्यमिक विद्यालय, धुलिखेल र पनौती क्षेत्रका विद्यालयहरूका विद्यार्थी, तथा शिक्षक समेत गरी १ सय ५१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन तथा प्रशिक्षण कार्य अस्पतालका प्रशासन, प्रशिक्षण तथा शिक्षा संयोजक सुमिता श्रेष्ठ र पुनस्र्थापना सुहजकर्ता गायत्रा डोटेलले गरेका थिए । अपाङ्गता परिचय, शारीरिक अपाङ्गता, प्रारम्भिक पहिचानका उपायहरू, निवारणका तरिका तथा विद्यालयमा अपाङ्गता अनुकूल वातावरण सृजना गर्ने विषयमा श्रेष्ठ र डोटेलले प्रशिक्षण दिएका थिए ।
विद्यालय स्तरमा नै बालबालिकामा देखिन सक्ने अपाङ्गता सम्बन्धी समस्या पहिचान गरी समयमै उपचार तथा पुनस्र्थापना गर्न सकिने सम्भावनाबारे जानकारी प्रदान गर्नु कार्यक्रमको उदेश्य रहेको आयोजकले जानकारी दिएका छन् । विद्यालय तहमा अपाङ्गता पहिचान भएका बालबालिकाहरूलाई समयमा उपचारका लागि अनुरोध गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याईएको छ । अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रले उक्त कार्यक्रम आयोजना गरेको हो ।






