जननिर्वाचित सरकार भङ्ग गर्नु सफ्ट ‘कु’ – पोलिटब्युरो सदस्य बास्कोटा

बनेपा/नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले लोकतन्त्रको स्थीरताले समेत सार्थकता पाउन नसकेको बताएका छन् । संसद पुनस्र्थापना एमालेको प्रमुख शर्त भएकाले यतिखेर एमालेका नेता कार्यकर्ताहरुको ध्यान र प्रर्दशन त्यसकै लागि भएको बास्कोटाले बताए ।

नागरिक सर्वाेच्चताका लागि एमाले सधै लडिरहेको बताउँदै नेता बास्कोटाले सार्वभौमिकता सहितको सर्वेच्चताका लागि एमालेले निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाईरहेको बताए । ‘जननिर्वाचित सरकार भंग गरिएको छ । यो सफ्ट ‘कु’ हो’–उनले भने–‘सबैसँग मित्रता छ, कसैसँग शत्रुता छैन । देशभित्र चलखेल भयो ।’ टुटेको कडी प्रतिनिधिसभा विघटन हो, त्यो पुनस्र्थापना पछि नेपालको राजनीतिले ट्रयाक लिने उनले बताए ।

नेता बास्कोटाले हरेक नेताले आफ्नो आफ्नो वडामा निर्वाचनमा विजय गराउने गरी संगठन र कमिटी बलियो बनाउने गरी सक्रिय हुनु पर्ने बताए । एमाले निर्वाचनबाट भाग्दैन तर साधारण वातावरण बनाउनु पर्ने उनले बताए । सरकार निर्वाचन तर्फ नभई अन्य क्षेत्रमा अल्झिएको बताउँदै नेता बास्कोटाले प्रतिनिधि सभा पुनस्र्थापना पछि मात्रै निर्वाचन हुने स्पष्ट पारे । भदौ २३ गतेको आन्दोलनका मागलाई भड्काउँदै भदौ २४ गतेको विध्वंस मच्चाईएको उनले बताए । प्रतिवद्धता सहितको आन्दोलनलाई ध्यान दिनु पर्ने बताउँदै नेता बास्कोटाले मसिंर ६ गतेको राजधानीको सभालाई विशाल बनाउन अनुरोध गरे ।

केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य एवं पुर्व अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, प्रदेश कमिटी सदस्य तथा बनेपा इन्चार्ज हरिशरण दाहाल लगायतले एमालेको नीति, धारणा र आगामी योजनाका बारेमा धारणा राखेका थिए । नगर कमिटीले आयोजना गरेको कार्यक्रम अध्यक्ष नवराज मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव पवन केसीले गरेका थिए भने स्वागत उप सचिव विक्रम प्रजापतिले गरेका थिए । कार्यक्रममा केन्द्रिय सल्लाहकारहरु, विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।