कुलमानको पार्टीमा काभ्रेका ४ जना केन्द्रिय सदस्य
कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ । साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाइएको हो ।
काभ्रेका ४ जना केन्द्रिय सदस्य बनेका छन् । ई.डा. शंकर ढकाल, जितराम लामा, ज्ञानकुमार तामाङ र ज्योत्सना सैजु केन्द्रिय सदस्य बनेका हुन् । लामा एमाले छोडेर उक्त पार्टीमा लागेका हुन् । लामा गत निर्वाचनमा चौंरीदेउराली गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । यस्तैं सैंजु पर्यटन व्यवसायी हुन् । उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध छिन् ।
हाल ऊर्जा, भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान भने चुनावताका मात्रै दलमा सक्रिय हुने भएका छन। उनको विश्वासपात्र उपाध्यायको नेतृत्वमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन सहभागी हुने गरी दल दर्ताका लागि अध्यावधिक विवरण पेस गरेका हुन्।






