समाजवादी मोर्चाबाट विप्लव नेतृत्वको नेकपा बाहिरियो
काठमाडौं / नेपालको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चाबाट बाहिरिएको घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले समाजवादी मोर्चाको औचित्य समाप्त भएको निष्कर्षसहित यो निर्णयमा पुगेको जनाएका हुन् ।
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरू मिलेर समाजवादी मोर्चा गठन भएको थियो । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीविकाको पक्षमा संघर्ष र भ्रष्टाचारविरुद्ध पहल गर्ने मुख्य उद्देश्यका साथ यो मोर्चा निर्माण गरिएको थियो ।
मोर्चा गठनयता केही महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न भए पनि अपेक्षित गतिमा काम अगाडि बढ्न नसकेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि नै उपेन्द्र यादव नेतृत्वको जसपा पनि समाजवादी मोर्चाबाट अलग भइसकेको थियो। हालै मात्र मोर्चाका दुई मुख्य घटक माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरूबीच पार्टी एकता भई ‘नेपाली कम्युनिष्ट पार्टी’ को निर्माण भएको छ ।
विप्लवको विज्ञप्तिमा जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमा व्यापक फेरबदल आएको तथा सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै गएको उल्लेख छ । ‘व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढी पनि सकेका छन्। समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो बदलिँदो राजनीतिक परिदृश्यमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको ठहर छ । यही निष्कर्षका आधारमा आफूहरू मोर्चाबाट अलग भएको जानकारी विप्लवले गराएका छन् ।






