माया

जगतै जेल्न मायाको जालो हरिले रचेको,
माकुरी जाल्मा फसेझैं माखो छौं हामी फसेको,
मायाको जालो वन्धन यस्तो छैन र पनि छ,
ढाकेर ब्रह्म जगतलाई भ्रममा पार्दछ,

 

ब्रह्माण्ड सारा अडेको छ नि यै माया जालमा,
जिवात्मा रहुन् नभमा यात जलमा थलमा,
मायाको भाव नित्य छ हुन्न यसको विनाश,
प्राणी यी सबै जेलिने गई त्यसैको आस्पास,

 

मायाको भाव अतिनै प्यारो राख्दछ अधिन,
मायाकै वशमा छौं हामी सबै उम्कन कठिन,
यो चराचर जगत सबै मायाकै अधिन,
यो मायालाई गर्दछ उही हरिले खटन,

 

माया हो भ्रम भनेर कतै गरिन्छ व्याख्या त,
तैपनि जीव हरेक पल मायानै खोज्दछ,
सकिन्न देख्न समेत छुन माया त यस्तो छ,
व्यापक छ नि व्रह्माण्डै भरी भेटिन्छ जस्तो छ,

 

ऋग्वेद भन्छ माया त्यो शक्ति ईश्वर अधिन,
यो माया बिना जिवात्मा बन्ने अस्तित्व विहीन,
प्रकृति यहाँ माया हो बुझौँ मायावी पुरुष,
जगत सारा उसैले राख्छ वशमा जरुर,

 

मायाको बिना संसार हाम्रो रत्तिनि चल्दैन,
ब्रह्म र जीव बीचको स्थूल सम्बन्धै हुँदैन,
मान्छे र मान्छे बिचको लिला त्यो पनि बन्दैन,
नभए माया आफन्त पनि आफन्त हुँदैन,

 

मायाको रूप त्रिगुणी हुन्छ गीता यो भन्दछ,
सत्व र रज त्यो तमो गुण माया नै ठान्दछ,
ब्रह्म हो सत्य जगत मिथ्या मायाले ढाकेर,
मायाकै कारण सत्य झैँ लाग्छ जगत संसार,

 

अद्वैतवादी मतमा माया त्यो सत्य छोप्दछ,
असत्यलाई बनाइ सत्य प्रस्तुत गर्दछ, ,
विवेक रोजौ बैराग्य रोजौँ मुक्ति त पाउन,
गरेर ध्यान भक्तिको मार्ग श्रवण मनन,

 

मायाको जालो च्यात्नका लागि हरिकै शरण,
श्रद्धा र भक्ति सत्संग गर्दै पाइला चालौंन,
यो चित्तवृत्ती निरोध गर्न अगाडि सरौंन,
साधना गरौँ त्यो मायामाथि विजय पाउन।
‘हरिॐ तत्सत’
भोला के.सी.(भट्टराई),बनेपा,बुडोल