जनस्वास्थ्य कार्यालय काभ्रेद्वारा वार्षिक समीक्षा तथा योजना गोष्ठी

धुलिखेल/ जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले आ.व. २०८१/०८२ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले दुईदिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना गोष्ठी आयोजना गरेको छ।

गोष्ठी कार्तिक २६ र २७ गते धुलिखेलस्थित हिमालयन दृश्य होटलमा आयोजना भएको हो। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गरेका थिए ।
कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्ज्यु, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति, जिल्ला स्थित स्वास्थ्यसँग सम्बन्धित कार्यालयका प्रमुखहरु, प्रदेस र संघका प्रतिनिधिहरु, पालिका स्थित स्वास्थ्य शाखाका प्रमुखहरु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । साथै स्वास्थ्य महाशाखा, जनस्वास्थ्य कार्यालय, विभिन्न पालिकाका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु, स्वास्थ्य संस्था प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

पहिलो दिन महाभारत, खानिखोला, पनौती, बनेपा, रोशी, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका सहित तेमाल, भुम्लु, चौरीदेउराली, बेथान्चोक लगायतका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले विगत वर्षका उपलब्धि, चुनौती, सिकाइ र आगामी योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।

मातृ तथा शिशु स्वास्थ्य, पोषण, सरसफाइ, रोग नियन्त्रण, स्वास्थ्य बीमा, जनस्वास्थ्य व्यवस्थापन लगायतका विषयहरूमा विशेष छलफल भएको थियो । सहभागीहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुदृढीकरण, औषधि आपूर्ति प्रणाली सुदृढ बनाउन र स्थानीय तहबीच सहकार्य तथा समन्वयलाई अझ मजबुत पार्नुपर्ने आवश्यकता औँल्याए।

गोष्ठीको दोस्रो दिनमा अस्पताल सेवा सुधार, पोषण तथा सरसफाइ कार्यक्रम, स्वास्थ्य बीमा विस्तार र आगामी वर्षका प्राथमिकताका कार्यक्रमहरू विषयमा समूहगत छलफल तथा कार्ययोजना निर्माण गरिएको छ । प्रत्येक समूहले आफ्ना निष्कर्ष र सिफारिसहरू प्रस्तुत गरेका थिए । सोही आधारमा जनस्वास्थ्य कार्यालयले आगामी वर्षका योजनाहरूमा सुधार र प्राथमिकता निर्धारण गर्ने जनाएको छ।

उद्घाटन सत्रको समापनमा जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख कक्षपतिले सहभागीहरूलाई धन्यवाद दिँदै विगत वर्षका उपलब्धिहरूलाई निरन्तरता दिन र चुनौतीहरू समाधान गर्न सबै तहका स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। सहभागीहरूले गोष्ठीले जिल्लाको स्वास्थ्य सेवा सुधारका लागि साझा दृष्टिकोण र योजनाबद्ध कार्यदिशा तय गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गरे। समापन कार्यक्रममा गोष्ठीको दोस्रो दिन स्थानीय तहको मुल्यांकन तथा प्रमाणपत्र बितरण गरिनेछ ।