चोरीमा संलग्न भुम्लुका ४ र महाभारतका एक जना पक्राउ
बनेपा/काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय भक्तपुरको टोलीले चोरी गिरोहका काभ्रेका ५ सहित आठ जनालाई पक्राउ गरेको छ । तीमध्ये चोरी गिरोहका नाइके मोरङको पथरी शनिश्वरे नगरपालिका–९ घर भएका ४३ वर्षीय कृष्णबहादुर खड्का सहित काभ्रेका पाँच जना रहेका छन् । काभ्रेका पाँच मध्ये भुम्लु गाउँपालिका वडा नम्वर ३ का मात्रै चार जना छन् ।
मुख्य नाईके भने ३८ पटकसम्म पक्राउ परेका थिए । पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–३ का २६ वर्षीय साधुराम भुजेल, २६ वर्षीय सुदीप भण्डारी, २८ वर्षीय राजिब भण्डारी, २९ वर्षीय सुजन भण्डारी र महाभारत गाउँपालिका–६ का २७ वर्षीय सुरज तामाङ छन् । त्यस्तै प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ कि २३ वर्षीया अनु गजमेर, रामेछापको दोरम्बा गाउँपालिका–८ का २२ वर्षीय बिशाल तामाङ रहेका छन् । मुख्य नाईके खडेका यस अघि ३८ पटकसम्म चोरी तथा डाँका गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ पर्दै कारागारसम्म चलान भएर छुटेका उनै खड्का अहिले ३९ औं पटक पक्राउ परेका छन् ।
उनी यो चोरी गिरोहका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ । कारमा चढेर पैसावाल मान्छे, गरगहना लगाएका मान्छेको रेकी गर्ने र एकान्त ठाउँ पुगेपछि लुटपाट गर्ने शैली देखिएको एसपी आचार्यले बताए । लुटपाट गरिसकेपछि रकम तथा गरगहनाहरू बाँडफाड गर्ने गरेको देखिएको प्रहरीले बताएको छ । उनीहरुबाट प्रहरीले लुटपाट गर्न प्रयोग गरेको बा ४ च ३९१६ नम्बरको कार समेत बरामद गरेको छ । त्यस्तै, चार थान मोटरसाइकल, सर्जिकल ब्लेड १ थान, १४ थान मोबाइल, नगद चार लाख २८ हजार ८८० रुपौयँ, भारु ६ हजार ६९०, अमेरिकन डलर २८ सय बरामद भएको छ । सुनको सिक्री, झुम्का, औठी, ब्रासलेट समेत बरामद भएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।






